भ्रष्टाचारीलाई कारवाही अघि बढाउँदा विचौलियाहरुले प्रचण्ड सरकार ढाले: उपाध्यक्ष भुसाल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले भ्रष्टाचारको कारवाही प्रकृयालालाई अगाडि बढाउन खोज्दा विचौलिया र दलालका नाइकेहरुबाट ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई अपदस्त गरेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, सहकारी काण्ड आउन थाल्यो र ति काण्डहरुमा मुछिएका भ्रष्ट, दलाल, विचौलिया र कमिशनखोरहरुमाथि कारवाही हुन थाल्यो। तब, बुढानिलकण्ठ, बालकोटतिर दौडधुप र चलखेल हुन थाल्या थाल्यो। त्यसपछि, माओवादी नेतृत्वको सरकारलाई अपदस्त गरियो।’

भ्रष्टाचारीहरुलाई दायाँ–वायाँ राखेर हालको ओली सरकार बनेको बताउँदै भुसालले वर्तमानसरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने उल्लेख गर्नुभयो ।

“अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकारहरु स्थापित छन् । संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्र समेत हुन सक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ ।” उपाध्यक्ष भुसालले भन्नुभयो ।

पार्टीलाई आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन एक्लै चुनाव लड्न सक्ने वलियो शक्ति बनाउने गरी पार्टी निर्माण गरिने उहाँले बताउनुभयो ।

पार्टी स्थायी समिति बैठकपछि सबै प्रदेशहरुमा पार्टीका वैठकहरु सम्पन्न भएको र आगामी केन्द्रीय समिति बैठकका लागि महत्वपूर्ण सुझावहरु नेता कार्यकर्ताबाट प्राप्त भएको उपाध्यक्ष भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पहिलो संविधानसभा निर्वाचनमा हामीले एकल बहुमत नजिक पुगेका थियौँ । त्यसपछि हाम्रो जनमत कम हुँदै गएको छ । हामी सत्तामा बढी केन्द्रित भयौँ, अब जनतामा जाने र बलियो पार्टी बनाउने गरी कार्यक्रम बनाउँर्द छौँ ।”

उपाध्यक्ष भुसालले राजनीतिक मान्यतामा पहिलो र दोस्रो ठूलो दलको सरकार बन्न नसक्ने भएपनि अघिल्लो सरकारले सुरुआत गरेका सुशासनलाई रोक्नका लागि हतार हतार नयाँ सरकार बनेको टिप्पणी गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का सचिव दीननाथ शर्माले जनयुद्धमा नेपाली महिलाहरुले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरले जनयुद्धमा जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको बताउनुभयो ।

अनेमसंघ (क्रान्तिकारी) ले स्थापनाकालदेखि नै महिलामाथि हुँदै आएको आर्थिक, सामाजिक र साँस्कृतिक विभेदविरुद्ध आन्दोलित रहेको उल्लेख गर्नुभयो ।

‘देशको हरेक परिवर्तनहरुमा महिलाहरुको उल्लेख भूमिका हुँदाहुँदै पनि देशमा पश्चगामी हावाहरु चल्ने क्रम जारी छ। यस्ता षडयन्त्र र चलखेललाई रोक्न क्रान्तिकारी महिला शक्तिहरुले संघर्षलाई थप उचाईमा लैजानु पर्नेछ’, नेतृ थापाले भन्नुभयो ।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद शुशिला सिंखडा, नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, तनहुँ जिल्ला इञ्चार्ज आशा कोइराला, बागलुङ जिल्ला इञ्चार्ज बलावती शर्मा, अखिल नेपाल बुद्धिजीवी संगठनका रामचन्द्र भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा गण्डकी प्रदेश मातहतका अनेमसंघ (क्रान्तिकारी) का जिल्ला संस्थापकहरुलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो।

हरिकला मरासिनी (बागलुङ), मञ्जु खनाल (कास्की), लिला भट्टराई (लमजुङ), सिर्जना गैरे (नवलपुर), चिनिमाया श्रेष्ठ (तनहुँ), सम्झना कुमाल (स्याङ्जा) यामकुमारी पुन (म्याग्दी), पुष्पा कुमाल (गोरखा), सम्झना अर्याल (स्याङ्जा) लाई सम्मान गरिएको हो।

त्यस्तै, जेलब्रेकरहरु कमला नहर्की, निता बि.क. र सञ्जु अर्याललाई सम्मान गरिएको थियो। सम्मेलनले अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेश पदाधिकारी र सदस्यसहितको नयाँ कार्यसमिति गठन गर्नेछ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिहरुको सहभागीता रहेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने सम्मेलन आयोजक समितिका संयोजक गीता शाहीले जानकारी दिनुभयो ।

Comments
Loading...