पोखरा उद्योग वाणिज्य संघ चुनाव : दुई हजार दुई सय बढी मत खस्यो

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार दुई सय २७ मत खसेको छ । निर्वाचन समितिका अनुसार संघमा कूल दुई हजार ६ सय ७६ जना मतदाता रहेका थिए ।

मतदान सकिएपछि मुचुल्का गरिएको छ । मतदान सकिएलगत्तै उम्मेदवारहरुसहितको सर्वपक्षीय बैठकले मतगणना भोलि मात्रै गर्ने निर्णय गरेको छ । निर्वाचन समितिका अनुसार मतगणना आईतबार विहान ८ बजेदेखि सुरु हुनेछ ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेल प्रतिष्पर्धामा हुनुहुन्छ । कार्की वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने पोखरेल अघिल्लो कार्यकालमा अध्यक्षका प्रत्यासी रहनुभएको थियो ।

संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचाय, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको उपमहासचिवमा भने बालकृष्ण कोईराला र सुदीपमान प्रधानाङ्ग चुनावी मैदानमा हुनुहुन्छ । कोईराला पोखरेल प्यानलमा रहनुभएको छ । प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

संघको खुल्ला १० सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमा पोखरेल प्यानलबाट सौगात थापा, जीवनप्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), प्रेमप्रसाद सुवेदी, यादवप्रसाद पोखरेल, लेखनाथ सुवेदी, दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, भीम गौतम, ललितबहादुर कुँवर उम्मेदवार हुनुहुन्छ ।

त्यसबाहेक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), विष्णुप्रसाद तिमिल्सिना, प्रदीप राजभण्डारी, बिनोद केसी चुनावी मैदानमा रहनुभएको छ ।

Comments
Loading...