पोखराको बुद्ध बचत तथा ऋण सहकारीको १७ औँ साधारणसभा

हिमाली आवाज । पोखरा महानगरपालिका–४ बुद्धविशालबजारमा अवस्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा आज एक समारोहकाबीच सम्पन्न भएको छ ।

सो साधारणसभाको कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य कमलादेवी गिरीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले सहकारीका क्षेत्रमा देखिएको असहज परिस्थिति सहज बन्दै गएको बताउनुभयो । उहाँले सहकारीका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएकाले सरकार समेत सहयोगी रहेको बताउनुभयो ।

“शेयर सदस्यहरुले सहज तथा असहज अवस्था पहिचान गरी संस्था बचाउन लाग्नुपर्दछ । सहज अवस्थामा नाफा बढ्छ, असहजमा घट्छ तर संस्था सँधै स्वस्थ रहनुपर्दछ ।” गिरीले भन्नुभयो ।

संस्थाका अध्यक्ष वासुदेव पराजुलीले शेयर सदस्यहरुनै संस्थाको जग रहेकाले संस्था बलियो बनाउन ठूूलो भूमिका रहने बताउनुभयो । अध्यक्ष पराजुलीले विश्व अर्थतन्त्रमा आएको फेरबदल र देशभित्र देखिएको आर्थिक शिथिलतालाई मध्यनजर राख्दै आगामी वर्षमा रक्षात्मक नीति गय गरेर राजइले अवलम्बन गर्ने नीति र नियमप्रति सचेत रहँदै अघि बढ्ने बताउनुभयो ।

साधारणसभामा जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष अम्बिका गौतम, कास्की बचत तथा ऋण सहकारी संघका सचिव मिनराज तिमिल्सिना, राष्ट्रिय सहकारी बैँकका अमृत श्रेष्ठ, संस्थाका निर्वतमान अध्यक्ष धुव्रप्रसाद रेग्मी,पूर्वअध्यक्ष नगेन्द्र प्रसाद पोखरेल,शेयरधनी प्रदीप कुमार लम्साल लगायतले संस्थालाई बलियो बनाउन शेयर सदस्यहरुको निरन्तर निगरानी आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा स्वागत सहसचिव रामकुमार श्रेष्ठ र सञ्चालन सचिव प्रजनकुमार थापाले गर्नुभएको थियो । साधारणसभाले सचिव प्रजनकुमार थापाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुहरि पन्थीको आव २०८१।०८२ को कार्यक्रम, लक्ष्य तथा बजेट पारित गरेको छ ।

साधारणसभाअवसरमा  उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारी, उत्कृष्ट कर्मचारी, स्नातक तहमा विभिन्न संकायमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरी तथा ज्येष्ठ नागरिकलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

बुद्ध बचत तथा ऋण सहकारीको शेयर पूँजी गत आर्थिक मसान्तसम्म रु चार करोड ९० लाख ८० हजार ६ सय रहेको, बचत निक्षेप रु ४० करोड ८२ लाख १२ हजार ७६ ऋण लगानी रु ३९ करोड ५८ लाख ६६ हजार २५४ रहेको संस्थाका कार्यालय प्रमुख नारायण तिवारीले जानकारी दिनुभयो ।

Comments
Loading...