गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

हिमाली आवाज । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि स्क्रिनिङ गरिने बताउनुभयो । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड बजेटसमेत विनियोजन गरेको उहाँको भनाइ छ ।

“नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अध्ययनले देखाएको छ”, पाठकले भन्नुभयो,“अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण यस्ता रोगबाट धेरै मानिस आक्रान्त बनेका छन्, यसको समयमै निदान र उपचारको व्यवस्था गर्नुपर्छ ।”

गाउँगाउँ पुगेर नसर्ने रोगको स्क्रिनिङ गरिने बताउँदै स्वास्थ्यमन्त्री पाठकले उक्त कार्यक्रमले गण्डकी प्रदेशमा नसर्ने रोगको अवस्था पत्ता लाग्ने बताउनुभयो । नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै विषय रहेको भन्दै नीतिगत प्रबन्धमार्फत तीनको समाधान खोजिने बताउनुभयो ।

“अस्पताल र स्वास्थ्यसंस्थामा दक्ष जनशक्ति र उपकरणको अभाव छ, कतै जनशक्ति भएका ठाउँमा उपकरण छैन, कतै भएको उपकरण प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो,“यसको मिहिन अध्ययन गरेर मन्त्रालयले नयाँ नीतिगत योजना ल्याउँछ ।”प्रदेश मातहत रहेको अस्पताल र स्वास्थ्य संस्थाको सेवालाई चुस्त र गुणस्तरीय बनाउन आफूले पहल लिने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पाठकले स्वास्थ्य बीमाबाट उपचार सेवा लिन सेवाग्राहीले भोग्नुपरेको झण्झट हटाउने बताउनुभयो । बीमामार्फत उपचार सेवा लिन लाम बस्नुपर्ने बाध्यता छ । स्वास्थ्यमन्त्री पाठकलले धवलागिरि उपप्रादेशिक अस्पतालमा चिकित्सा विषय पठनपाठनका लागि पहल गर्ने बताउनुभयो ।

Comments
Loading...