पोखरामा लोटस ट्राभल्सले सञ्चालनमा ल्यायो सुपर एसि भिआइपी बस

हिमाली आवाज । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गतको लोटस ट्राभल्सले  लामाचौरदेखी पोखरा–काठमाडौँ रुटमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ ।

आउदै गरेको विजयादशमी लगायतका चाडपर्वलाई लक्षित गरी सो ट्राभल्सले सुविधासम्पन्न सोफासेटको सिट जडान गरिएको अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको सुपर एसि भिआइपी दुई वटा बसबाट सेवा सुरु गरेको हो । केही दिनभित्रमा थप दुई वटा बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राका लागि आधुनिक सोफा सेट, एसी, हिटर,मोवाइल चार्ज गर्ने प्वाइट लगायतका सुविधा रहेको ट्राभल्सका सञ्चालक लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । पोखरादेखी काठमाडौँसम्मको यात्रालाईं सहज बनाउने लक्ष्य अनुसार सुविधासम्पन्न बस थप गरिएको पौडेलको भनाई छ ।

“पोखरा पर्यटकीय राजधानी समेत घोषित भइसकेको सन्दर्भमा स्तरीय बस सेवा दिनुपर्दछ भनेर सेवा विस्तार गरेका छौँ । हाम्रो सेवाबाट समग्र पोखरा सहित लामाचौर, पुरुनचौर, माछापुच्छ«े गाउँपालिका नागरिकहरु अझ बढी लाभान्वित हुनुहुनेछ ।” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस २८ सिट क्षमताको रहेको ट्राभल्सका सञ्चालक पुष्पराज पौडेलले बताउनुभयो ।

“पोखराको उत्तरी क्षेत्र खासगरी सार्दिखोला, तातोपानी, मर्दी हिमाल तथा खुमई डाँडा लगायतका क्षेत्रमा अहिले पर्यटक आगमन धेरै राम्रो छ । हाम्रो सेवाबाट पर्यटकले समेत लाभ लिनेछन् । ” सञ्चालक पौडेलले भन्नुभयो ।

सुविधासम्पन्न बस पोखराबाट विहान÷बेलुका र काठमाडाँैँबाट समेत विहान÷ बेलुका सञ्चालन हुनेछन् । काठमाडौँबाट लैनचौर, सोह«खुट्टे बालाजु हुँदै पोखराका लागि र पोखराको लामाचौरबाट नदीपुर, लेकसाइड, पर्यटनवसपार्क हुँदै काठमाडौँका लागि छुट्ने कम्पनीले जनाएको छ ।

बस सेवाको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सेवाबाट पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।उहाँले पोखरा–मुग्लिन सडक निर्माण छिटो सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

“पोखरा मुग्लिन सडक तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर द्रुत गतिमा काम अघि बढेको छ । प्रदेश सरकारले सडक निर्माण छिटो सक्नका लागि निरन्तर निर्माण कम्पनीसँग छलफल गरी राखेको छ । चार लेनको सडक बनेपछि सुविधासम्पन्न बसहरुले अझ राम्रो सेवा दिनेछन् । ”मन्त्री थापाले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एनकुमार साईले यातायात व्यवसायीले यस क्षेत्रमा ठूलो लगानी गरेकाले सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले यात्रुमैत्री सेवा आफूहरुको प्राथमिकता रहेको बताउनुभयोे । “पोखराको उत्तरी क्षेत्रका आम यात्रु उपभोक्तालाई यात्रुमैत्री सेवा दिन सुविधासम्पन्न बस सार्थक बन्ने छन् । पृथ्वीराजमार्ग कम्पनीमा आवद्ध बसहरुले समयसापेक्ष सेवा दिनेछन् ।” अध्यक्ष केसीले भन्नुभयो ।

पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामचौरबाट छुट्ने गरी बस सेवा सञ्चालनले पोखराको माथिल्लो क्षेत्रका नागरिकलाई सुविधा पुगेको बताउनुभयो । “साविक लामाचौर आसपासका बासिन्दाले बस सञ्चालनका लागि लामो प्रयास गरेका थिए, लामो समय लागेको थियो । अहिले सुविधा थप हुँदै जाँदा हामी खुशी छौँ ।” पाण्डेले भन्नुभयो ।

कार्यक्रममा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका सञ्चालकहरु ज्ञानबहादुर कार्की, अशोककुमार यादव, मेघराज त्रिपाठी, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिँह भण्डारी लगायतले सुविधासम्पन्न बस सेवाले यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिने बताउनुभएको थियो । सेवा शुभारम्भका अवसरमा लामाचौरमा यातायात क्षेत्रको विकासमा सहयोग गरेकामा नवआदर्श सामुदायिक विकास समाजलाई सम्मान गरिएको थियो ।

Comments
Loading...