हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीले गर्यो सदस्यको १० लाखको दुर्घटना बिमा

हिमाली आवाज । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीले संघमा आवद्ध सदस्यहरुको रु १० लाख बराबरको दुर्घटना बिमा गरेको छ ।
अपरेटर संघ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच आज बिमा सम्झौता भएको संघका अध्यक्ष किशोर प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले बिमामा सहभागी हुन चाहने सबै सदस्यहरुलाई संघमा आवद्ध हुन आह्वान गरिने बताउनुभयो ।

अध्यक्ष गौतमले भन्नुभयो,“हामीले हाम्रा सदस्यहरूको हकमा सङ्घको तर्फबाट सानो भए पनि दायित्व निर्वाह गरौँ भन्ने हेतुले बिमा गराउने यो निर्णय गरेका हौँ । संघमा आवद्ध नभएका साथीहरुलाई समेत संघको सदस्य भएपछि बिमा कार्यक्रममा सहभागी गराउने छौँ । “

बिमा कम्पनीसँग गरिएको सम्झौता अनुसार दुर्घटनादेखि औषधी उपचारसम्मका सम्पूर्ण सेवा सदस्यहरूले प्राप्त गर्ने उहाँले बताउनुभयो । संघले सुरुमा दुई लाखदेखी बिमा सुरु गरेको थियो । त्यसलाई पछि पाँच लाख, सात लाख हुँदै वृद्धि गरेर अहिले १० लाख बनाइएको हो ।

विमा सम्बन्धी सम्झौता कार्यक्रममा हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका निर्वतमान अध्यक्ष प्रेम थापामगर, पूर्वअध्यक्ष सुशील कुमार वाग्ले तथा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका जयश्वर श्रेष्ठ र रोहित कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

Comments
Loading...