देशकै नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा चक्लाबन्दी गरेर गरिएको सामूहिक खेती कृषिमा नमूना बनेको छ ।
गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमै पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो ।

घाचोकको सिरानखेत र तल्लाखेतमा गरी तीन सय १६ रोपनी जमिन चक्लाबन्दी गरिएको छ । ससाना खेतका गरालाई मिसाएर ठूलो क्षेत्रफलमा सामूहिक खेती गरिपछि चक्लाबन्दी खेतीका लागि घाचोकको पहिचान देशमै स्थापित भएको छ ।

चक्लाबन्दीमा कसरी काम भइरहेको छ भनेर देशका विभिन्न भागबाट जनप्रतिनिधि, राजनीतिक दलका नेता, इन्जिनियर, कृषि प्राविधिक, कृषक तथा सर्भेयरहरु अध्ययन अवलोकनका लागि आउने गरेको भूमे सिर्जनशिल कृषक समूहका सचिव भुवनेश्वर पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ हामीले स–साना कित्तामा विभाजित जग्गालाई चक्लाबन्दी गरेर सामूहिक खेती गरेका छौँ । यहाँको चक्लाबन्दी अवलोकन गर्न र अध्ययनका लागि देशभरबाट विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु आउने गर्नुभएको छ । हाम्रो ठाउँ अहिले देशमै नमूना बनेकामा हामी खुशी छौँ ।”

सचिव पोखरेलले चक्लाबन्दीपछि खेती गर्न लागत कम भएको तथा उत्पादन समेत वृद्धि भएको बताउनुभयो । “चक्लाबन्दीका फाइदा धेरै छन् । खेती लगाउन सजिलो भएको छ, पहिला भन्दा उब्जाउ समेत बढेको छ । ट्याक्टर लगाउन र सिँचाई राम्रो छ ।” पोखरेलले भन्नुभयो । चक्लाबन्दी गरिएको जमिनमा खेती लगाउने देखी थन्काउने सबै जिम्मेवारी कृषक समूहको छ । आफै काम गर्ने कृषकले समूहबाट ज्याला पाउने गर्दछन् । काम गर्न नभ्याउनेले लागत बर्होनुपर्ने गरी नियम बनाइएको छ । यसबाट खेतीमा समय दिन नसक्नेहरुलाई समेत सजिलो भएको कृषक समूहका सचिव पोखरेलले बताउनुभयो ।

प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषिको आधूनिकीरकण तथा यान्त्रीकरणका माध्यमबाट ठूलो क्षेत्रफलमा व्यावसायिक खेतीका लागि जमीन चक्लाबन्दी कार्यक्रम ल्याएपछि कृषकहरु त्यसतर्फ आकर्षित भएका हुन् ।

सुरुमा कृषकको जमीन एकीकरण गरेर समथर बनाउनका लागि कृषि मन्त्रालयले अनुदान दिने गरेको छ । सरकारले चक्लाबन्दीका लागि ४० देखि १०० रोपनीसम्मका लागि बढीमा रु १० लाख अनुदान, १०१ देखि २०० रोपनीलाई रु २० लाख तथा २०१ देखि ३०० रोपनीसम्म रु ३० लाख र ३०० रोपनीमाथि प्रतिरोपनी रु १० हजारका दरले अनुदान उपलब्ध गराउँदै आएको छ।

कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न ससाना कित्ताका जमिनलाई एकीकृत गरी प्रदेशभित्र सामूहिक खेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गरी ठूलो परीमाणमा एकै प्रकृतिको व्यावसायिक उत्पादनका लागि चक्लाबन्दी प्रभावकारी बनेको मन्त्रालयका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमूख गङ्गालाल पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म गण्डकीका मनाङ बाहेकका जिल्लामा गरी पाँच हजार पाँच सय रोपनी जमिन चक्लाबन्दी गरिएको छ । “हिमाल पारिको मुस्ताङदेखी नवलपुरको समथर फाँटसम्म चक्लाबन्दी कार्यक्रम सञ्चालन भएको छ । प्रत्येक वर्ष मन्त्रालयले यस कार्यक्रम गर्दैै आएको छ, कृषकको आकर्षण राम्रो छ । ” पोखरेलले भन्नुभयो ।

Comments
Loading...