पोखराको पुम्दीभुम्दीमा पर्वतीय दौड,विजेतालाई २५ हजार पुरस्कार

हिमाली आवाज । विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका सन्दर्भमा देशको पर्यटकीय राजधानी पोखरामा आगामी असोज १२ गते पर्वतीय दौड प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क लगायतका पर्यटनका प्रचुर सम्भावना रहेका गन्तव्यको थप प्रवद्र्धनका लागि दौड गर्न लागिएको आयोजक पोखरा क्लिक मिडिया प्रालिले आज पत्रकार सम्मेलन आयोेजना गरी जानकारी दिएको हो ।‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने आठ किमी दौड प्रतियोगिता खुला प्रतिस्पर्धा हो ।

दौडको रुट विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुँगिने कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो ।

प्रतियोगितामा खुलातर्फ प्रथमलाई रु २५ हजार, द्धितीयलाई रु १५ हजार र तृतीय हुनेलाई रु सात हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी महिला धावक र १६ वर्षमूनिका बालबालिका, पोखरा–२२ का वडावासी धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद रु सात हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिने बरालले बताउनुभयो ।

“पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवद्र्धन गर्न लागेका हौँ । खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ।” संयोजक बरालले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराको समग्र पर्यटनको विकासमा प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले पर्यटनका सबै सङ्घ संस्थाले प्रतियोगितालाई विशेष महत्व दिएर आवश्यक सहयोग गर्ने बताउनुभयो ।

विश्व शान्ति स्तुप समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले करिब ५० वर्षअघि खुलेको विश्व शान्ति स्तुप प्रचार अभावमा छायामा परेको गुनासो गर्दै दौडबाट थप प्रचार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य केशव पाठकले यो प्रतियोगिता नमूना बताउनुभयो । नेपाल पत्रकार महासंघ गण्डकी सचिव यदुनाथ बञ्जाराले पोखरालाई विभिन्न खेलकुद गतिविधिले विश्वमा परिचित गराएको बताउनुभयो ।

आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । सोही सन्दर्भ पारेर कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

Comments
Loading...