हिमाली आवाज । पोखरामा आज दिउसो एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँबरटोल बस्ने ४० वर्षीया राधिका कुँबरको श्रीमान ४२ वर्षीय जहरसिँह कुँबरले सामान्य विवादमा हतियार प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
राधिकाको घाँटी र पेटमा प्रहार गर्दा घाईते भएकामा उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकामा चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता वसन्त शर्माले बताउनुभयो ।
छिमेकीले घटनाको बारेमा जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले राधिकालाई अस्पताल लगेको थियो भने श्रीमान जहरसिँहलाई खुकुरी सहित नियन्त्रणमा लिएको बताइन्छ । प्रहरीले घटनाको थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।