नेपाल इन्जिनिययर्स एसोसिएसन चुनाव:गण्डकीमा संयुक्त प्रगतिशील समूह उत्साहित

हिमाली आवाज । इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एसोसिएसन (एनइए)को चुनावले माहोल तातेको छ । चुनावमा प्रगतिशील र लोकतान्त्रिक प्यानलै बनाएर इन्जिनियरहरु प्रतिस्पर्धामा होमिएका छन् ।

यही भदौ २८ गते हुने केन्द्र र प्रदेशको चुनावी अभियान चलिरहँदा गण्डकी प्रदेशमा प्रगतिशील इन्जिनियरहरुको प्यानलले जित निश्चत भएको दावी गरिएको छ । महेन्द्रबहादुर गोदारको सभापतित्वमा चुनावमा होमिएको संयुक्त प्रगतिशील समूहले चुनावी प्रचारपछि जित पक्काजस्तै भएको दावी गरेको छ ।

‘विचारभन्दा माथि, सबै इन्जिनियर साथी’ भन्ने नारालाई आत्मसात गर्दै निर्वाचनमा होमिएको संयुक्त प्रगतिशील समूहलाई इन्जिनियरहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रगतिशील समूहबाट गण्डकीमा गोदारको सभापतित्वमा कृष्ण रिजाल उपाध्यक्ष, आनन्द भट्टराई सचिव, अस्मिता खनाल सहसचिव र सोभित श्रेष्ठ कोषाध्यक्षको हुनुहुन्छ ।  संयुक्त प्रगतिशील समूहबाट केन्द्रीय सदस्यमा रामचन्द्र पोखरेल (आरसी) केन्द्रीय सदस्य र प्रदेशका अन्य सदस्यका उम्मेदवारहरुलाई जिताउन समूहले अपिल गरेको छ ।

गण्डकीमा १ हजार ५५१ मतदाता इन्जिनियर छन् । चुनावी प्रचार तथा अभियानका क्रममा अधिकांश इन्जिनियरहरुले पेशागत हित र संस्थागत विकासका लागि सक्षम र जुझारु नेतृत्व प्रगतिशील समूहमा रहेको प्रतिक्रिया दिएका छन् ।

‘चुनावी अभियानकै क्रममा हामीले धेरै साथीहरुलाई भेट्यौं । अहिले इन्जिनियरहरुमाथि नै प्रश्न उठिरहेको, इन्जिनियरिङ पेशालाई मर्यादीत बनाउनुपर्ने आवश्यकता रहेको र पेशागत मर्यादा र दक्षतालाई बिस्तार गर्नका लागि उपयुक्त नेतृत्व चाहिन्छ, त्यो आवश्यकता पूरा गर्ने उम्मेदवार प्रगतिशील समूहमा छन् भनेर सकारात्मक प्रतिक्रिया पाएका छौं,’ गण्डकी प्रदेश समिति सचिवका उम्मेदवार आनन्दले भन्नुभयो,‘हामी कुनै समूहको होइन, इन्जिनियरका साझा समस्या बोल्छौं, पेशागत तथा संस्थागत विकासको एजेण्डा उठाइरहेका छौं ।’

चुनावी अभियानका क्रममा कतिपयले पुरानो समिति आम इन्जिनियरहरुको साझा बन्न नसकेको र संस्थागत गरिमालाई विस्तार गर्न नसकेको गुनासो पनि गरिरहेका छन् । त्यो गुनासो चिर्नका लागि पनि प्रगतिशील समूहले सिर्जनशील काम गरेर संस्थालाई सबैको साझा बनाउने केन्द्रीय सदस्यका उम्मेदवार रामचन्द्र पोखरेल (आरसी)ले बताउनुभयो ।

लामो समयदेखि इन्जिनियरिङ पेशामै लागेका, यो क्षेत्रलाई नजिकबाट बुझेका, समस्याको पहिचान गरेका सभापतिका उम्मेदवारदेखि नयाँ पुस्ताको आवश्यकता बुझेका, सिर्जनशील हुटहुटी बोकेका पदाधिकारी र सदस्यका उम्मेदवार प्रगतिशील समूहमा रहेको चुनावी अभियानका क्रममा प्रतिक्रिया दिइरहेका छन् ।
गण्डकीका सबै जिल्ला र भूगोलका इन्जिनियरहरुले भोगेका समस्या पहिचान गर्दै अधिकार र अवसरको आवाज उठाउँदै यो पेशालाई व्यवस्थित र आकर्षित बनाउने हुटहुटी आफूहरुमा रहेको सचिवका उम्मेदवार आनन्दले बताउनुभयो ।

Comments
Loading...