रुपा गाउँपालिकामा स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्नेलाई अण्डा उपहार

हिमाली आवाज । कास्कीको रुपा गाउँपालिकाले गर्भवतीको नियमित स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेहरुलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।

‘प्रोटोकल अनुसार गर्भ जाँच गरौँ, आमा र बच्चाको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिनका लागि सो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गर्भवती महिलाले आठ पटक स्वास्थ्य परीक्षण गराउनु पर्दछ । रुपा गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्ववती आमालाई प्रत्येक पटक परिक्षण गर्न आउदा एक क्रेट अण्डा दिने कामको सुरुआत गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ । ”

अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र प्रोटोकल अनुसारको नियमित परीक्षण कार्यक्रम समेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान सुरुआत गरेको बताउनुभयो ।

“स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिए अनुसारको गर्भ जाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउनका लागि समेत अभियान सहयोगी हुने विश्वास लिएका छौँ ।” अध्यक्ष ओझाले भन्नुभयो ।

गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।”

नौ वडा रहेको रुपा गाउँपालिकामा एक आधारभूत अस्पताल, चार वटा स्वास्थ्य चौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौ वटा स्वास्थ्य संस्था रहेका छन् । सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।

Comments
Loading...