पृथ्वीराजमार्ग बस कम्पनीले दशैँका लागि खुलायो अग्रिम टिकट बुकिङ

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले दशैँ तथा तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशभर मध्यम तथा लामो दूरीमा यातायात सेवा दिँदै आएको कम्पनीले भोली भदौ २६ गतेदेखी पोखरा फिर्केस्थित प्रधान कार्यालयबाट र कार्यालय अन्तरगतका काउण्टरहरुबाट गन्तव्यमा पुग्ने यात्रुहरुका लागि अग्रिम टिकट काट्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

समयमै टिकट खोल्दा चाडपर्व मनाउनका लागि घर जान चाहने यात्रुहरुलाई सजिलो हुने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो ।उहाँले भन्नुभयो,“पोखरा देशकै पर्यटकीय राजधानी यहाँ विभिन्न स्थानबाट पेशा व्यवसाय गर्नेहरुको संख्या ठूलो छ । उनीहरुलाई चाडपर्व मनाउन सजिलोसँग घरमा पुग्ने वातावरणका लागि अग्रिम टिकट खुला गरेका हौँ । कम्पनीका देशका विभिन्न भागमा रहेका सबै काउन्टरबाट पहिल्यै टिकट काट्न सकिन्छ ।”

कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेकाले टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्न अनलाइन तथा मोबाइलबाटै टिकट काट्न सकिने व्यवस्था रहेको बताइन्छ ।

कम्पनी मातहतमा एक हजार ४०० सय यात्रु बाहक बस सञ्चालनमा छन् । कम्पनीले दिवा तथा रात्री सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’बाट देशका सातै प्रदेशका विभिन्न सहरहरुमा सेवा दिँदै आएको कम्पनीका प्रशासकीय अधिकृत ज्ञानेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

यातायात व्यवसायीहरुले निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत पोखरा— मुग्लिन खण्डको मुख्य सडक र नारायणगढ —बुटवल खण्डको मुख्य सडक विगत लामो समयदेखि स्तरोन्नतिका क्रममा जीर्ण हुँदा यात्रुहरु र व्यवसायीले दुःख पाएको बताएका छन् ।

“राजमार्गमा धुलो हिलोका कारण सवारी साधनहरुको पार्टपूर्जा, इन्जिन र गियर बक्स हरु खराब हुन गई पटक–पटक मर्मत सम्भार गर्नुपर्ने अवस्थाले यातायात ब्यवसायीहरु धराशायी हुने अवस्था आएको छ । सरकारले समयमै सडक पूर्वाधार निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिनु पर्दछ । ” अध्यक्ष केसीले भन्नुभयो। पृथ्वीराजमार्ग बस सञ्चालक यातायात कम्पनी प्रालि सवारी सङ्ख्यामा देशको दोस्रो ठूलो यातायात कम्पनी हो ।

Comments
Loading...