पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाउँदै महानगर

हिमाली आवाज । पोखराका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषाको निःशुल्क कक्षा सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिका र नेपालस्थित चिनियाँ दुतावासबीच चिनियाँ भाषा कक्षा सञ्चालन सम्बन्धी सम्झौता भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा एक वर्षसम्म १० वटा विद्यालययहरुमा चिनिया भाषाका थप (अतिरिक्त ) कक्षा सञ्चालन हुने आचार्यले बताउनुभयो । कक्षा ९ देखी १२ सम्मका इच्छुक विद्यार्थीले कक्षा लिन सक्ने बताइएको छ ।

चिनिया भाषाका कक्षा सञ्चालनका लागि चीनबाट १० जना स्वयंसेवक पोखरा आइपुगेको र यही भदौ २७ गतेदेखी पढाई सुरु हुने महानगरले जनाएको छ ।
“मातृभाषा बाहेक थप भाषाको ज्ञानले भविष्यमा व्यक्तिगत रुपमा साथै पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्नेछ । चिनिया भाषाका शिक्षकहरु पोखरा आइपुग्नुभएको छ, उहाँहरुले तोकिएका विद्यालयहरुमा पढाउनुहुनेछ ।” महानगर प्रमुख आचार्यले भन्नुभयो ।

महानगरले पहिलो चरणमा पार्दी माध्यमिक विद्यालय, बालमन्दिर मावि, जनप्रकाश मावि, छोरेपाटन मावि, लक्ष्मी आदर्श मावि, गौरीशंकर मावि, विष्णुपादुका मावि,राष्ट्रिय मावि, लक्ष्मी माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरिने जनाएको छ ।
पोखरामा चिनिया भाषाको कक्षा सञ्चालनले पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिइएको महानगरले जनाएको छ । देशको पर्यटकीय राजधानी समेत रहेकाले पोखरामा चिनियाँ पर्यटकको समेत राम्रो आगमन हुने गरेको छ ।

कोरोना अघि उल्लेख्य चिनियाँ पर्यटक आउने गरेपनि त्यसपछि भने केही कमी भएको पर्यटन व्यवसायीको भनाई छ ।

Comments
Loading...