गण्डकीमा ‘सिक्दै कमाउँदै कमाउँदै सिक्दै’ कार्यक्रम

हिमाली आवाज । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।
व्यावसायिक शिक्षाका लागि प्रदेशका २५ वटा विद्यालयहरुमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले मन्त्रालयका एक सय दिनका उपलव्धीहरु सार्वजनिक गर्दै प्राविधिक धारका विद्यालयहरुमा सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“प्रदेशका २५ वटा प्राविधिक धारका विद्यालयहरुमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको छ । ‘फ्राइडे फर फियुचर’ कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको छ ।” मन्त्री थापाले भन्नुभयो ।

कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा सरकारले अनुदान रकम उपलव्ध गराउने छ । यसैगरी विद्यालयमा उत्पादित सामग्रीको बजारीकरणका लागि समेत मन्त्रालयले सहयोग गर्ने मन्त्री थापाले बताउनुभयो ।

गत जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृतिहरुको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशिल बनाई महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । मनकामना क्षेत्रको सञ्चालन, संरक्षण, विकास एवम् प्रवद्र्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको बताउनुभयो ।

श्रम तथा रोजगार तर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको मन्त्री थापाले बताउनुभयो । व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सीपमुलक क्षेत्रको पहिचान गरी स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको मन्त्री थापाले बताउनुभयो ।

सामाजिक विकासमन्त्री थापाले भन्नुभयो,“गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् । खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ ।”

क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले विरामीलाई रु एक लाख बराबरको उपचार गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।

यसबीचमा बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई विस्तार गरिएको छ ।
गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमा महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालनमा ल्याइएको मन्त्री थापाले बताउनुभयो ।

यसैगरी क्षयरोग जस्ता विभिन्न सर्ने रोगहरू एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष ‘स्क्रिनिङ’ कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...