सिनेमा ‘खुश्मा’:जुन द्वन्द्वकालको प्रेम कथामा आधारित

हिमाली आवाज । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्।

माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो। उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ।
फिल्मका निर्देशक अशोक थापा मगरले भन्नुभयो,‘फिल्म मेकिङमा हामीले सक्दो मेहनत गरेका छौं। दर्शकले पक्कै मन पराउनुहुनेछ।’ डकुमेन्ट्री निर्माण गरिरहेका निर्देशक थापाको यो पहिलो फिचर फिल्म हो।

फिल्ममा द्वन्द्वकालको बेलाको प्रेम कथा प्रस्तुत गरेको उहाँको भनाइ छ। ‘द्वन्द्वकालको प्रेमकथा पस्कदैछौं। राम्रो फिल्म बनेको छ। सबैको चिजको मिश्रण गरेका छौं’, थापाले सुनाउनुभयो । व्यवसायिकसँगै नेपाली फिल्म उद्योगलाई उकास्न फिल्म बनाएको निर्देशक थापाले बताए। दर्शकले फिल्म मन पराएर अर्को बनाउन हौसला थप्नेमा विश्वस्त देखिनुभएको छ ।

मुख्य भूमिकामा रहेका उपसना र धिरजले फरक चरित्रमा प्रस्तुत भएको बताउँदै साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको बताउनुभएको छ ।पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो। रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको छ। फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ ।
फिल्ममा धिरज, उपसनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, लगायतका कलाकारहरुको अभिनय छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको रहेको छ। चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा फिल्मको निर्माता रहनुभएको छ । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुनुहुन्छ ।
फिल्म दिपक बज्राचार्यले खिच्नुभएको हो भने एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ।

फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो। चार हप्ता पहिलो टिजर सार्वजनिक फिल्मको ट्रेलर यो हप्ताभित्र ल्याउने तयारी छ।

Comments
Loading...