पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं :अर्जुन पोखरेल

हिमाली आवाज । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार हुनुहुन्छ । अध्यक्षका प्रत्यासी पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहनुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उमेदवार अर्जुन पोखरेलले हारबाट विचलित नभई आफ्नो प्रतिवद्धताहरु पुनः लिएर व्यवसायी माँझ आएको बताउनुभयो ।

‘मलाई स्मरण छ, ३४ औं महाधिवेशनबाट निर्वाचन परिणाम घोषणा हुँदै गर्दा मैले यही फोरमबाट भनेको थिए’, उमेदवार पोखरेलले भन्नुभयो, ‘म हारबाट बिचलित हुँदिन, पुनः एकचोटी आफ्नो अनुभवलाई संघमा नेतृत्व गर्छु भन्ने प्रतिवद्धता लिएको थिए त्यसै अनुरुप आज तपाईहरु समक्ष उभिएको छु ।’

संघलाई राम्रो बनाउन टीम चाहिने भएकाले त्यो टिम आफुहरुले लिएर आएको समेत पोखरेलले बताउनुभयो ।‘हिजो ३४ औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका साथीहरु म सँगै लामो समय सहकार्य गरेका साथीहरु थिए’, उहाँले भन्नुभयो,‘विगतको हारको अनुभवलाई हेर्दै गर्दा निर्वाचनमा विजयी हुन र संघलाई राम्रो टीम चाहिने भएकाले वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई लिएर निर्वाचनमा होमिएको छु, आशा छ सबै व्यवसायीहरुले हाम्रो टीमलाई विश्वास गर्नुहुनेछ ।’

संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिवद्धतापत्रसहित व्यवसायीहरुको घरदैलोमा हुनुहुन्छ । पोखरेल प्यानलबाट उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव), मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष पदमा निर्विरोध हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य) मा निर्विरोध हुनुभएको छ ।

पोखरेल प्यानलबाट निर्विरोध भएका पदाधिकारीहरुले व्यवसायीहरुको समस्या समाधान र सुस्ताउँदै जान थालेको पर्यटन र व्यवसायलाई चलायन बनाउन आफुहरु लागि पर्ने बताउँदै एकल रुपमा नभएर टीमबाट नै समस्याको समाधान हुने भएकाले प्यानलबाट १६ बुँदे प्रतिवद्धता पत्र लिएर आएको बताउनुभयो ।

पोखरेल प्यानलबाट अध्यक्षमा अर्जुन पोखरेल र उपमहासचिवमा बालकृष्ण कोइराला उम्मेदवार हुनुहुन्छ । यस्तै कार्यसमिति सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, प्रेम प्रसाद सुवेदी, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापाको उम्मेदवारी छ ।

 

 

 

Comments
Loading...