‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफले जित्यो

हिमाली आवाज । पोखराको लामाचौरमा सञ्चालन भएको ‘लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’मा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको भलिबल कोर्टमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्धन्द्धी न्यू डायमण्ड काठमाडौँलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको हो । उपाधि जितेको एपिएफले नगद रु एक लाख ५० हजार ट्रफी र मेडल प्रमाणपत्र पुरस्कार पायो ।

पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट भने गुमाएको थियो। पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो एपिएफले २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको न्यू डायमण्डले रु एक लाख एक सय ११ पुरस्कार पायो ।

प्रतियोगितामा बाग्लुङको गलकोट तृतीय भयो र रु ५० हजार एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा । एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर घोषित हुनुभयो ।

डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित हुनुभयो । प्रतियोगितामा एपिएफकी पूजा चौधरी ‘मस्ट भ्यालुयबल प्लेयर’ बन्नुभयो ।

यसैगरी पुरषतर्फको फाइनल खेल भने आज रोकिएको छ । दुई विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको खेल ‘लाइट प्रोटेस्ट’का कारण स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष स्वागतसिँह भण्डारीले जानकारी दिनुभयो ।

उपाधि प्रतिस्र्धामा दुवै टोलीले समान एक÷एक सेट जितेका थिए । एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्र्रो सेट समान २५–२३ ले जितेको थियो । पुरुषतर्फको फाइनल खेल शनिबार विहान सञ्चालन हुने आयोजकले जनाएको छ ।
कृष्ण दवाडी,पोखरा

Comments
Loading...