माछापुच्छ्रे माविका प्रअ आचार्यलाई गण्डकी प्रदेशबाट उत्कृष्ट शिक्षक पुरस्कार

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ सार्दिखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य गण्डकी प्रदेशबाट उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

प्रजापति(पिपि) प्रसाई प्रतिष्ठानले आज काठमाडौँमा आचार्यलाई पिपि प्रसाई क्षेत्रीय उत्कृष्ट शिक्षक पुरस्कार नगद रु ५० हजार तथा सम्मानपत्रबाट पुरस्कृत गरेको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो पुरस्कार प्रअआचार्यलाई अर्पण गर्नुभयो ।

सामुदायिक विद्यालयमा कार्यरत रही शिक्षाको विकासमा उल्लेखनीय योगदान गर्दै शिक्षण पेशाको मर्यादा बढाएका सो पुरस्कार प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।

आचार्यको नेतृत्वमा माछापुच्छ्रे माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा ठूलो फड्को मारेको छ । सो विद्यालय यस वर्ष कास्कीका सामुदायिक विद्यालयहरुमा एसइइी परिक्षमा सर्वोत्कृष्ट हुन सफल भएको थियो । त्यसैगरी विद्यालय देशमै नमूनाका रुपमा समेत विकास भएको छ ।

सर्वोत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गरेपछि आफूलाई थप उत्साह मिलेको प्रअ आचार्यले हिमाली आवाजलाई जानकारी दिनुभयो ।“ देशमै स्थापित यस पुरस्कारले मलाई अत्यन्त खुशी मिलेको छ, उत्साहित छु । आफ्नो कार्यमा थप जिम्मेवार भएर लागि पर्नेछु ।” आचार्यले भन्नुभयो ।

Comments
Loading...