राष्ट्रिय महिला भलिबल टोलीका कप्तान शाही पोखरामा सम्मानित

हिमाली आवाज । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही आज पोखरामा सम्मानित हुनुभएको छ ।
गण्डकी प्रदेश सरकारबाट सञ्चालित गण्डकी विश्वविद्यालयले नेपाली महिला भलिबल खेल विकासमा गरेको योगदानबापत उहाँलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापाले कप्तान शाहीलाई नगद रु २० हजार र प्रशंसापत्रबाट सम्मान गर्नुभयो ।

हालै काठमाडौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल शाही गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुनहुुन्छ ।

नेपालमा पहिलो पटक स्नातकतहमा खेलकुद व्यवस्थापन (विएसएम) अध्ययन–अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो व्याचकी छात्रा हुनुहुन्छ । उहाँ हाल छैटौं सेमेस्टरमा अध्ययनरत गर्दै हुनुहुन्छ ।

शाहीले सम्मानका लागि विश्वविद्यालय प्रति आभार व्यक्त गर्दै खेलकुद संगै अध्यनन अपरिहार्य रहेको बताउनुभयो । “राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्न समेत अध्ययन आवश्यक छ । नेपाली खेलाडीहरुलाई विश्वविद्यालयले दिएको अवसरलाई सबै खेलाडीहरुले उपयोग गर्नुपर्दछ । ”कप्तान शाहीले भन्नुभयो ।

सो अवसरमा सामाजिक विकासमन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर रुपमा प्राप्त सफलता प्रति वधाई दिंदै पछिल्लो समय नेपाली खेलकुदमा परिवर्तनका आभासहरु देखिन थालेको बताउनुभयो ।

“नेपाली महिला खेलाडीहरुले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन् । महिला भलिबल खेल विकासका लागि प्रदेश सरकारका प्रतिवद्ध छ ।” थापाले भन्नुभयो ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालय आफ्नो स्थापनाको छोटो अवधिमा नेपाल भरी आकर्षण बढाउन सफल रहेको बताउनुभयो ।

उहाँले केही वर्षमानै नेपालको उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“विश्वविद्यालयले विभिन्न अनुसन्धानमुलक विषयहरुको खोजी गर्दै ती विषयहरुमा अध्यापन सुरु गरेको छ । छात्रा अरुणाले अध्ययन संगै खेलकुदमा समेत महत्वपूर्ण सफलता प्राप्त गरेकोले विश्वविद्यालय परिवार निकै गौरवान्वित छ ।”

उपकुलपति प्राडा नवराज देवकोटाले अनुसन्धानमुलक विषयहरुसंगै एआई जस्ता विषयहरुमा अध्यापनका लागि अघि बढाएको बताउउनुभयो । त्यही अनुरुप खेलकुद क्षेत्रलाई समेत जोडेको उहाँले बताउनुभयो ।

“नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरुको पहुँच होस र उनीहरुले अवसर प्राप्त गर्न सकुन भन्ने अभिप्रायले विएसएम विषय सुरु गरेका छौँ । यस विषयप्रति आकर्षण बढिरहेको छ । अध्ययनसंगै नेपाली खेलकुदमा गौरव बढाउने विद्यार्थीले गरेका छन् ।”

Comments
Loading...