पदयात्रामा चारदिन अघि हराएका विदेशी पर्यटक फेला परेनन्

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा यही भदौ ९ गतेदेखी बेपत्ता भएका एक पर्यटक बुधबार साँझसम्म फेला पर्न सकेका छैनन् ।

अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत कास्कीको उल्लेरी हुँदै म्याग्दीको घोरेपानी जाने क्रममा स्पेनिस नागरिकद्धय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।

सम्पर्क विहीन भएका इरिकको मङ्गलबार दिउसो भुरुङदी खोलाको बीचमा शव फेला परेपनि महिलाको दैनिक खोजी गरिरहेपनि अवस्था हालसम्म अज्ञात रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले आज विरेठाँटीदेखी घटनास्थल मौजाखोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो । भुरुङदी खोला विरेठाँटीमा आएर मोदी नदीमा मिसिन्छ ।

“पर्यटक हराएको दिनदेखीनै हामीले खोजी कार्य गरिरहेका छौँ । मौजाखोलादेखी विरेठाँटीसम्म खोजी गर्दा समेत बेपत्ता महिला पर्यटकलाई फेला पार्न सकेको छैनौँ ।” गुरुङले भन्नुभयो । सशस्त्र प्रहरीको खोताखोर सहितको टोली, प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी, एक्यापका प्रतिनिधि तथा स्थानीयवासीले पर्यटकको खोजी गरिरहेका छन् ।गत भदौ ९ गते विहान एक्यापको विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेका थिए ।

सोही दिन साँझ मौजाखोला नजिक बाटोमा दुई वटा झोला वेवारिस अवस्थामा फेला परेपछि विरेठाँटी प्रहरी चौकीमा ल्याएर झोला खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।

पदयात्रामार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक चिप्लियर खोलामा खसेको अनुमान गरिएको छ । खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक(लौरी) भेटिएको थियो ।

पदयात्रामा जाँदा पथप्रदर्शक(गाइड) नलिइकन जाँदा पर्यटक हराउने गरेको पर्यटन व्यवसायीको भनाई छ । ट्रेकिङ एजेन्ट्स एशोसिएसन नेपाल(टान) गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले गाइड बिना गएका पर्यटक पदयात्रामा हराउने, दुर्घटनामा पर्ने तथा दुःख पाउने गरेको बताउनुभयो ।

“नेपाली सहयोगी वा गाइड बिना विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम छ। तर सो नियमको पालना नहुँदा समस्या पर्ने गरेको छ । ” आचार्यले भन्नुभयो । पदयात्रामा हराएका दुई स्पेनिस पर्यटकले समेत नेपाली सहयोगी लगेका थिएनन् ।

Comments
Loading...