पुरुनचौर पहिरामा परिवारका छ जना गुमाएका परियारलाई रु आठ लाख सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गत असार २७ गते रातिको पहिरामा परिवारका छ जना सदस्य गुमाएका पवन परियारलाई रु आठ लाख दुई हजार दुई सय सहयोग प्रदान गरिएको छ ।

हाल अमेरिकामा बस्ने पुरुनचौर स्थायी घर भएकाहरुको पहलमा अमेरिकामा सङ्कलित रकम आज राहत तथा आवास निर्माणका लागि सहयोग गरिएको हो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्य, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला प्रशासन तथा अमेरिकामा रहेका नेपालीहरुका प्रतिनिधि सहितको उपस्थितिमा पीडित परियारलाई हस्तान्तरण गरिएको हो ।

पहिरामा परिवारका सबै सदस्य गुमाएका पवनलाई यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले रु सात लाख राहत प्रदान गरेको थियो । पोखरा महानगरले परियारको पठनपाठनको जिम्मेवारी बहन गर्ने जनाएको छ ।

पहिरामा परेर घर पुरिदा पवनले बुबा कुलबहादुर, आमा मनकुमारी, हजुरआमा लक्षिमा, दिदी प्रभा, भिनाजु अस्मित र बहिनी प्रशनालाई गुमाएका थिए । पहिराले पवनको घर पूर्ण क्षति भएको छ ।

Comments
Loading...