सञ्चारमन्त्री गुरुङद्वारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण

हिमाली आवाज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले राससलगायत राज्यका स्वामित्वमा रहेका संस्थाका अचल सम्पत्तिलाई चल सम्पत्तिमा रुपान्तरण गरिने बताउनुभयो ।

“राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरि योजना बनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो । मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रकारको वृत्तिविकासमा पनि आफ्नो जोड रहने बताउनुभयो । “राससको प्रभावकारिता वृद्धिमा तपाईँहरुको ठाउँबाट इमान्दारीका साथ लाग्नुहोस्, मेरो तर्फबाट सकेको सहयोग गर्छु”, मन्त्री गुरुङले भन्नुभयो ।

निरीक्षणका क्रममा कार्यालय प्रमुख वासुदेव पौडेलले रासस प्रदेश कार्यालयको अवस्था र सेवाबारे मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो । मन्त्री गुरुङसमक्ष उहाँले पोखरामा रासस प्रदेश कार्यालय भवन निर्माणमा सरकारको सहयोगको खाँचो औँल्याउनुभयो । सो अवसरमा मन्त्री गुरुङले राससको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । उहाँलाई प्रमुख पौडेललगायत राससकर्मीले कार्यालयमा स्वागत गरेका थिए ।

Comments
Loading...