पोखरा स्पोर्टस् अवार्ड:रु एक लाख ८६ हजार बचत

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस्बाट रु एक ८६ हजार दुई सय ७७ बचत भएको छ ।मञ्चले आज पोखरामा स्थापना दिवस मनाउँदै गत वैशाख २८ गते आयोजना गरिएको स्पोर्टस् अवार्डको आम्दानी तथा खर्र्च सार्वजनिक गरेको हो ।

स्पोर्टस् अवार्डमा विभिन्न सरकारी तथा निजी श्रोत मार्फत रु १८ लाख ५० हजार पाँच सय ३६ आम्दानी भएको र जसमध्ये रु १६ लाख ६४ हजार दुई सय ५९ विभिन्न शीर्षकमा खर्च भएको मञ्च गण्डकीका कोषाध्यक्ष तथा पोखरा स्पोर्टस् अवार्ड आर्थिक व्यवस्थापन उपसमिति

संयोजक कविता घर्तीमगरले जानकारी दिनुभयो ।आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आईटिएफ तेक्वान्दो खेलाडी सुस्मिता थापाले जित्नुभएको थियो ।

यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनका दिलाशा राना, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसी, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद संघसंस्था वा क्लबको तर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको थियो । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक ईन्द्रा मल्ललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलकुद पत्रकारिता गरिरहेका पत्रकारहरुको संस्था मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्ड पोखराको ब्राण्डका रुपमा स्थापित भएको बताउनुभयो । स्पोर्टस् अवार्ड खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका उपाध्यक्ष माधव रेग्मी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ,महासचिव राजाराम पौडेल लगायतले मञ्चले गरेका कामहरुको चर्चा गर्दै खेलकुद पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

मञ्च गण्डकीको सातौँ स्थापना दिवसका अवसरमा केक काटेर शुभकामना आदानप्रदान पनि गरिएको थियो । सो अवसरमा पत्रकार विजय नेपालले मञ्चले स्थापना गरेको अक्षय कोषमा रु ११ हजार एक सय ११ सहयोग प्रदान गर्नुभयो ।

मञ्चले विसं २०७२ देखि पोखरामा निरन्तर स्पोर्ट्स अवार्ड कार्यक्रम गर्दै आएको छ । विसं २०५७ मा खेलकुद पत्रकार मञ्च कास्की स्थापना भएको थियो ।देश संघीयतामा गएसँगै विसं २०७५ मा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्वायत्त संस्थाको रुपमा मञ्चलाई विकास गरिएको हो । हाल मञ्चमा ७४ जना पत्रकार आवद्ध छन् ।

Comments
Loading...