गण्डकीको पशुपन्क्षी क्षेत्रमा साढे ६९ करोड बजेटका कार्यक्रम

हिमाली आवाज । गण्डकी प्रदेशमा यस वर्ष पशुपन्क्षी क्षेत्रमा रु ६९ करोड ४९ लाख बराबरका योजना तथा कार्यक्रमहरु सञ्चालन हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतका कार्यालयहरुका लागि लागि सो बजेट छुट्टाइएको हो ।

पशुपन्क्षीक्षेत्रतर्फ चालू तर्फ रु ६२ करोड ३२ लाख र पूँजीगतर्फ रु सात करोड १६ लाख रहेको छ । पशुपन्क्षीतर्फ निर्देशनालय मातहतमा ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, एक वटा पशु सेवा तालिम केन्द्र र एक मत्स्य विकास कार्यालय रहेको छ । निर्देशनालयले यस वर्ष अधिकाँस पुरानै कार्यक्रमहरुलाई निरन्रता दिएको छ ।

निर्देशनालयले एक कार्यक्रमका बीच चालू आवमा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरेको छ । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले चालू वर्षमा कोल्डरुम स्थापना, पशुन्क्षी बधस्थल निर्माण सुधार,पशुपन्क्षी तथा मत्स्य व्यवसायमा तथा राहत तथा पुनःस्थापना कार्यक्रम,पशुमा पूर्ण खोपका लागि खोप खरिद, पशु कल्याण सहयोग कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाई भट्टराईले सीमित बजेट र जनशक्तिका बाबजुद पनि निर्देशनालय र मातहतका कार्यालयहरुले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।“ लिमिटेड बजेट र जनशक्तिका बाजुद पनि निर्देशनालय र मातहतका कार्यालयले प्रदेशका ८० प्रतिशत किसानको घरधूरीमा गएर प्रत्यक्ष सेवा दिन सकेको छ । त्यसलाई हामी प्रशंसा गर्नुपर्दछ ।” उहाँले भन्नुभयो । महानिर्देशक भट्टराईले जनशक्तिको माग विस्तारै पूरा हुँदै गरेकाले धेरै चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

निर्देशनालयले उत्पादनको प्रवद्र्धन र बजारिकरणमा समेत जोड दिएको उहाँले बताउनुभयो । पशुमा पूर्ण खोप कार्यक्रमबाट महामारीजन्य रोग घटेको उहाँको भनाई छ । महानिर्देशक भट्टराईले भन्नुभयो,“ विगतका वर्षहरुदेखी तथ्यांक हेर्दा पशुमा लाग्ने महामारीमा रोग कति घटेको छ । त्यो किसानले पनि महसुस गर्नुभएको छ ।” उहाँका अनुसार गण्डकी प्रदेशमा गत वर्ष पशुमा पूर्ण खोप कार्यक्रम अन्तर्गत २० लाख ४८ हजार तीन सय ६८ डोज खोप लगाइएको थियो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिना, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टंकप्रसाद प्रसाई, कृषि विकास निर्देशनालयका महानिर्देशक वासु रेग्मी, पशुपन्क्षी विकास निर्देशनालयका डा बालकुमार श्रेष्ठ, डा सपनालक्ष्मी घिमिरे, जिल्लास्थित भेटेरिनरी अस्पतालका प्रमुखहरु, पशुपालक कृषकहरु लगायतले कृषकले प्रत्यक्ष लाभ लिने खालका कार्यक्रम कार्यान्वयनमा जोड दिनुभएको थियो ।

Comments
Loading...