हिमाली आवाज । पोखरामा आज विहान भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी लिएर आउँदै गर्दा पोखरा–२१ गुड्कु स्थित भित्री सडकमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
सो घटनामा पोखरा–२१ बस्ने विद्यालयका कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उहाँका छोरा छ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालक मध्येमा १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।