शैक्षिक सुधारमा माछापुच्छ्रे गाउँपालिका : सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापकको नियुक्ति

हिमाली आवाज ।  कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा करारमा प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।
विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाले पालिकाका ३८ सरकारी विद्यालयमा प्रअ नियुक्तिका लागि आवेदन माग गरेको हो । गाउँपालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गरिने जनाएको छ ।

पालिकाका सामुदायिक विद्यालयका कार्यरत योग्यता पुगेका शिक्षकहरु र हाल कार्यरत प्रधानाध्यापकहरु समेतबाट प्रधानाध्यापकका लागि आवेदन माग गरिएको गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८ जना, आधारभूत तह (६–८) का लागि १० जना र माध्यमिक तह(९–११)का लागि चार जना र माध्यमिक तह(११–१२)का लागि छ जना गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

विद्यालय विकास प्रश्ताव तयारी र प्रस्तुती तथा प्रधानाध्यापक छनोट मापदण्ड अनुसारको अङ्कका आधारमा विद्यालयहरुमा प्रअ छनोट गरिने उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

“मुख्यत पालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको योजना अनुसार खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न लागेका हौँ ।” उपाध्यक्ष अधिकारीले भन्नुभयो,“ प्रधानाध्यापक छनोट तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएका बनाएर खुला आवेदन सहित प्रक्रिया सुरु गरेका छौँ । केही दिनमा नियुक्तिको प्रक्रिया सुरु हुन्छ ।”

प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्सीय समिति रहने कार्यविधिमा उल्लेख छ । सो समितिमा गाउँ शिक्षा समितिले तोकेको दुई जना विज्ञ,गाउँ शिक्षा समितिको अध्यक्षले मनोनित एक जना सदस्य र गाउँपालिका शिक्षा अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

प्रधानाध्यापकको विधिपूर्वक छनोट गरी विद्यालयको शैक्षिक प्रशासनमा गुणस्तरीयता, शैक्षिक विकास र उपलव्धी तथा विद्यालयको कुशल व्यवस्थापनका लागि पहिलो पटक प्रतिस्पर्धामा जोड दिइएको गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताउनुभयो ।

Comments
Loading...