पोखरामा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा अनलाइन दर्ता अभिमुखीकरण

हिमाली आवाज । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा अनलाइन दर्ता प्रकृया सम्बन्धी अभिमुखिकरण पोखरामा सम्पन्न भएको छ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकी प्रदेश र कास्की शाखाले बुधबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा नेल्टाका केन्द्रिय महासचिव एवं परिषद्का सदस्य सुरेश कुमार श्रेष्ठले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ मा भएको कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनुभयो । यसैगरी परिषदमा अनलाईन दर्ता प्रक्रियाको वारेमा जानकारी दिँदै उहाँले दर्ता गरी कानुनी मान्यता प्राप्त गर्न सबैमा आग्रह गर्नुभयो ।

महासचिव श्रेष्ठले यस ऐनको परिधि भित्र रहेर प्रदेश कानुन वनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेश स्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको जानकारी दिनुभयो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराका वरिष्ठ पशु विकास अधिकृत डा वाल कुमार श्रेष्ठले अनलाइन दर्ताले सहज हुने बताउनुभयो ।

उहाँले नेपाल पशु चिकित्सा परिषद्मा दर्ता हुन योग्य जनशक्ति वाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पुर्ण जनशक्ति पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको जानकारी दिनुभयो ।

नेल्टा कास्कीका अध्यक्ष वसन्तराज कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, तनहुँका प्रमुख डा राजेश चौधरी, मत्स्य विकास केन्द्र मिर्मिका प्रमुख रविन्शन अधिकारी, निर्देशनालयका पशु विकास अधिकृत डा सपना लक्ष्मी घिमिरे लगायतले भनाई राख्नुभएको थियो ।

Comments
Loading...