सौर्य एयरलाइन्स दुर्घटना:एकै परिवारका तीन सहित १८ जनाले ज्यान गुमाए

हिमाली आवाज । काठमाडौँबाट पोखराका लागि बुधबार विहान उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको हो । सो दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् ।

आफू पोखरा जाने भएपछि शर्माले श्रीमती र छोरालाई पनि सँगै लगेका बुझिएको छ। प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा परी अधिराज शर्मा (बालक)को मृत्यु भएको पुष्टि गरेको छ ।

विमानका पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।”

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ः११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

Comments
Loading...