कास्कीमा दूई लाख पशुलाई खोप लगाइयो

हिमाली आवाज । विभिन्न रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्धेश्यले जिल्लमा सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रममा गत वर्ष दुई लाख बढी पशुलाई खोप लगाइएको छ ।खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लामा पाँचवटै पालिकाका ७२ वडाका ३५ हजार सात सय छ घरधूरीमा एकै साथ पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०÷०८१ मा गाई, भैँसी, बाख्रा, बंगुर, कुकुर र भेडामा गरी दुई लाख एक हजार एक सय ७२ डोज खोप दिइएको हो ।

पूर्ण खोप कार्यक्रममा गाई, भैँसी र बंगुरमा खोरेत विरुद्धको ७१ हजार २५ डोज खोप दिइएको थियो । यसैगरी एक हजार छ सय गाई,भैँसीमा एचएसविक्यू खोप लगाइएको थियो । यसैगरी ७९ हजार सात सय ७५ बाख्रा र आठ हजार चार सय २५ भेडामा पिपिआर खोप दिइएको थियो ।
कार्यालयका अनुसार १० हजार ८८ कुकुरलाई रेविज र छ हजार सात सय ३४ बंगुरलाई स्वाइनफिभरको खोप दिइएको थियो ।

गाई १६ हजार पाँच सय ५४ र भैँसी छ हजार नौ सय ७१ गरी २३ हजार पाँच सय २५ वटालाई लम्पिस्किन विरुद्धको खोप दिइएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखी पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।

स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारीले पालिकाका पशु सेवा शाखाका कर्मचारीको सहयोग लिएर सुरुआतमा कृषकका पशु फर्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन र त्यसपछि खोप लगाएका हुन् ।

“पशुमा पूर्ण खोप कार्यक्रम कृषकले प्रत्यक्ष लाभ लिने कार्यक्रम हो । यो कार्यक्रम सिधै कृषककोमा पुग्दछ र शतप्रतिशत कार्यान्वयन समेत भएको छ ।” कार्यालय प्रमुख पाण्डेले भन्नुभयो,“महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ।”

Comments
Loading...