टान गण्डकीले व्यवसायीलाई दियो पाँच दिनको डिजिटल मार्केटिङ तालिम

हिमाली आवाज । ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीले व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धी पाँच दिनको तालिम प्रदान गरेको छ । तालिममा सहभागी ३१ जनालाई प्रविधिको प्रयोग गरेर कसरी व्यवसायको प्रवद्र्धन गर्ने भन्ने बारेमा सिकाइएको थियो । सहभागीहरुलाई नेदरल्याण्डका अन्तर्राष्ट्यि प्रशिक्षक जेरोएन भिन्केस्टेइजनले तालिम दिनुभयो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।

“अहिलेको समय सूचना प्रविधि र यसले विकास गरेको डिजिटल प्रविधिको युग हो । यस समयमा डिजिटल प्रविधिलाई कसरी आफ्नो व्यवसाय विकास, विस्तार र प्रवद्र्धनमा लगाउन सकिन्छ भनेर तालिम दिएका हौँ । तालिम अत्यन्त प्रभावकारी भयो । सहभागीहरु धेरै खुशी हुनुभयो ।” उपाध्यक्ष आचार्यले भन्नुभयो ।

तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिँह गुरुङले मन्त्रालयले पर्यटकको बसाई लम्ब्याउने खालका विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गरेको बताउनुभयो ।

उहाँले पदयात्राको प्रवद्र्धन र सहितलाई यसलाई बचाउने चूनौती रहेको उल्लेख गर्नुभयो । सचिव गुरुङले भन्नुभयो,“हामीलाई अहिले भइरहेका पदयात्राहरुको प्रवद्र्धन गर्ने र ती पदयात्राहरुलाई जोगाउनुपर्ने ठूलो चूनौती छ । हामी योजनावद्ध तरिकाले पर्यटन र पदयात्रा पर्यटनको विकासमा गरेका छौँ ।”

पोखरालाई पर्यटन व्यवसायी र जनताको माग अनुसार पर्यटनको राजधानी घोषणा गरिएको उल्लेख गर्दै प्रद्येश सरकारले सहजीकरण मात्र गरेको उहाँले बताउनुभयो । सचिव गुरुङले प्रवद्र्धनका लागि डिजिटल मार्केटिङको प्रमुख हात रहने उल्लेख गर्नुभयो ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अहिलेको व्यवसायको प्रमुख चुनौती डिजिटल मार्केटिङ रहेको बताउनुभयो । उहाँले तालिम अत्यन्त फलदायी रहेकाले आगामी दिनमा यस्ता सीपमुलक तालिमको योजना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टानका पूर्वअध्यक्ष सोमबहादुर थापा, टानका सचिव तीर्थराज सुवेदी लगायतले तालिमले व्यवसायीको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभएको थियो ।

Comments
Loading...