पोखरामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

हिमाली आवाज । पोखरामा आज पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा दिउसो ३ः४५ बजेतिर पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा पोखरा–१ मोहरियाटोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङबसर्पाकका १८ वर्षीय स्वयम् ताम्राकार रहेका छन् ।
साथीहरुका साथमा पौडी खेल्न गएका दुबै जना युवा पौडी खेल्दाखेल्दै रहमा डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल कालिका गण पोखराबाट खटिएको गोताखोर सहितको टोलीले खोजी गरी साँझ ४ः४५ बजे शवलाई बाहिर निकालेको थियो ।

प्रहरीका अनुसार छ जना साथीहरु मिलेर हर्पन खोलामा पौडी खेल्न गएका थिए । अन्य चार जना भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Comments
Loading...