आवश्यकता आधारमा आयोजना छनोट गरौँ भन्दा कसैले मान्दैनन् : मुख्यमन्त्री पाण्डे

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैँङ्कका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।प्रदेश नीति तथा योजना आयोगले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा आयोजना अवधारणा पत्र सार्वजनिक गर्दै उहाँले अहिले पनि पहुँचका आधारमा योजना पर्ने गरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले विशेषगरी बजेट निर्माणका बेलामा आफ्नो क्षेत्रमा योजना पार्नका लागि सांसद,कर्मचारी तथा राजनीतिक नेतृत्वको दवाव बढी हुने गरेको उहाँले सुनाउनुभयो ।सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारमा अहिलेपनि पहुँचको भरमा योजना छनोट भइरहेको भन्दै मुख्मयन्त्री पाण्डेले भन्नुभयो,“आवश्यकताका आधारमा गरौं भन्यो भने कसैले मान्दैनन् । भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाईदेऊ भनेर कसैले भन्दैन । बरु उसले पहिला मेरो घरको बाटो बनाईदेउ भन्छ, त्यसपछि गाउँजाने बाटो, वडा जाने बाटो र बल्ल अन्तिममा पालिकाको बाटो भन्छन् ।”

आयोजना बैंङ्क भएमा व्यवहारिक कार्यान्वयनमा सहजता हुने भए पनि मानसिकरुपमा नबदलिएसम्म कार्यान्वयनमा जान नसकिने मुख्यमन्त्रीले बताउनुभयो ।“आयोजना बैँङ्कको अवधारणा राम्रो भएपनि लागू गर्न व्यवहारिक रुपमा कठिन कठिनाई छ । सबै मिलेर सकारात्मक निर्णय गर्दा मात्र लागू गर्न सकिन्छ ।” मुख्यमन्त्रीले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले योजनाहरुमा विगतमा तोकिएको सिलिङमा यस वर्ष आफू टिक्न नसकेको उल्लेख गर्दै सबैले यस मोडालिटिलाई बुझेर गृहकार्य गरेर लागू सकिने उल्लेख गर्नुभयो ।प्रदेश नीति तथा योजना आयोगले प्रदेशको नीति निर्माण र योजना तर्जुमाको प्रक्रियालाई व्यवहारिक र सन्तुलित बनाउन तथा योजनाहरूको बैज्ञानिक ढङ्गबाट छनोट एवं प्राथमिकीकरणका लागि आयोजना बैँङ्कको अवधारणा ल्याएको हो ।

आयोजना बैँङ्क तयारीका लागि आयोजनाको पहिचान,लेखाजोखा र आयोजना छनोट तथा प्राथमिकिकरण गरी तीन प्रमुख चरण रहने अवधारणापत्रमा उल्लेख छ ।योजनाका लागि बजेट विनियोजन भएपछि मात्र सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जस्ता अहिलेको परिपाटीका कारण ठूला एवं गौरवका आयोजनाहरू समेत अलपत्र परेको अवस्थामा आयोजना बैँङ्कको योजना अघि सारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताउनुभयो ।

“प्रदेशका महत्वपूर्ण आयोजनाहरू पहिचान एवं छनोटको निश्चित मापदण्ड तयार गरी सोही वमोजिम आयोजना छनोटको प्रक्रिया थालनी गर्ने उद्धेश्य राखिएको छ ।” देवकोटाले भन्नुभयो ।

कार्यक्रममा योजना तथा पूर्वाधार विज्ञ मनिराम सिँह महतले आयोजना बैँङ्कको अवधारणा, आयोजना बैँङ्कको सुदृढीकरणका लागि विषयगत मन्त्रालयको भूमिका, आयोजना तयारी, लेखाजोखा, छनोट तथा प्राथमिकीकरण लगायतका विषयमा स्पष्ट पार्नुभएको थियो ।

Comments
Loading...