हाइकिङसँग जोडिदै पोखराको गर्लाङ सामुदायिक घरबास

हिमाली आवाज । पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवद्र्धन प्रयास थालिएको छ ।
पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुर्याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । “हाइकर्स क्बल नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ”, रानाभाटले भन्नुभयो,“पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुर्याउने गरेका छौं ।”

विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उहाँले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताउनुभयो । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उहाँले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिनुभयो ।

गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन । पछिल्लो समय विस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताउनुभयो ।

गर्लाङ सामुदायिक होमस्टेका सदस्य गुरुङ्गका अनुसार यहाँका पाँचवटा घरमा घरबास सञ्चालनमा छन् । हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उहाँको भनाइ छ । गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने सदस्य गुरुङले बताउनुभयो ।

यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न गाउँमाथि रहेको झुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ । जोगिमणिबाट करिब एक घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुमसम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुग्न सकिन्छ

Comments
Loading...