गण्डकीमा म्याद कटेर नविकरण नभएका सबै प्राइभेट फर्म नविकरणको बाटो खुल्यो

हिमाली आवाज । गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नविकरणको म्याद कटेर कानुन अभावमा नविकरण हुन नसकेका प्राइभेट फर्महरु नविकरण र अद्यावधिकको बाटो खुलेको छ ।

गण्डकी प्रदेश प्राइभेट फार्म दर्ता ऐनमा संशोधनपछि एक वर्ष वा सो भन्दा बडी अवधि व्यतित भई नविकरण हुन नसकेका फर्मको यही असार २६ गतेदेखी नविकरण गर्न सुरु गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेश प्रसाद आचार्यले बताउनुभयो ।

गण्डकीमा गत वर्ष असोज ८ गतेदेखी नविकरणको म्याद एक वर्ष कटेका फर्महरुको नविकरण रोकिएको थियो । यसबीचमा उद्योग तथा पर्यटन कार्यालय कास्कीमा सात सय भन्दा बढी फर्मले नविकरणका लागि निवेदन दिएका थिए ।

प्राइभेट फर्म दर्ता संशोधन नियमावली २०८१ ले जरिवाना लिएर फार्म नविकरण गर्न सकिने व्यवस्था गरेको उद्योग तथा पर्यटन कार्यालय कास्कीका कार्यालय प्रमुख महराज ढकालले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले विसं २०७८ मा जारी गरेको प्राइभेट फर्म दर्ता ऐनले एक वर्ष भन्दा बढी म्याद गुर्जेका फर्महरुलाई नविरणका लागि दुई वर्षको समय दिएको थियो ।

ऐनले दिएको दुई वर्षको समय विसं २०८० असोज ८ गते सकिएपछि कानुन अभावमा नविकरण रोकिने अवस्था आपछि प्रदेश सरकारलाई आवश्यक कानुनी व्यवस्थाका लागि अनुरोध गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ उद्योगी व्यवसायीले नविकरणका लागि ध्यान नदिँदा एक वर्ष बढी म्याद गुर्जेका फर्म धेरै थिए । हामीले नविकरणका लागि आएकालाई कानुन नभएर होल्डिङ गरेका थियौँ । अहिले प्राइभेट फर्म दर्ता ऐन संशोधन गरेर नकिरण र नविकरण शुल्कलाई व्यवस्थित गरेको छ । अबदेखी प्राइभेट फर्महरु नविकरण गर्न रोकिने अवस्था भएन ।”

पछिल्लो संशोधन नियमावली अुनसार अबदेखी फर्म नविरकण गर्दा पूँजी अुनसार रु २० लाख सम्मको पूँजी छ भने प्रतिवर्ष रु दुई हजार पाँच सय र रु २० लाख माथिका फर्मलाई रु पाँच हजार पाँच सय जरिवाना लिइने उद्योग तथा पर्यटन कार्यालयले जनाएको छ ।

“नविकरण दस्तुरको एक वर्ष कटेपछि तेब्बर दस्तुर लिने व्यवस्था कानुनमा छ । हामीले दिएको नविकरण अवधि कटेपछि जरिवाना लिने हो ।” कार्यालय प्रमुख ढकालले भन्नुभयो । सरकारले जरिवाना लिएर फर्म नविकरणको व्यवस्थापछि अहिले उद्योग कार्यालयहरुमा उद्योगी व्यवसायीको भीड लागेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव वलराम आचार्यले नविकरण छुट भएका उद्योगी व्यवसायीको समस्या समाधान भएको बताउनुभयो । सरकारले गरेको व्यवस्थाका बारेमा सबै व्यवसायीलाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।उद्योग तथा पर्यटन कार्यालय कास्कीमा २१ हजार उद्योग तथा २८ हजार वाणिज्य फर्म दर्ता रहेको कार्यालयले जनाएको छ ।

Comments
Loading...