गण्डकी प्रदेशका एक सय ७८ खेलाडी नगद सहित पुरस्कृत

हिमाली आवाज । प्रदेशका विभिन्न तीन राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई शनिबार नगद सहित पुरस्कृत गरेको छ ।

प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेशबाट सहभागिता जनाएर प्रतियोगितामा स्वर्ण,रजत र कास्य पदक तथा प्रथम, द्धितीय र तृतीय बनेर बिजेता बनेका प्रदेशका एक सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।

चालू आर्थिक वर्षमा आयोजना गरिएका बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीले पुरस्कार पाएका हुन् ।

खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्य सचिब श्रीधर शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो ।

पुरस्कृत हुने खेलाडीहरु मध्ये ‘व्यक्तिगत इभेन्ट’तर्फ स्वर्ण, रजत र कास्य पदक बिजेतालाई क्रमश नगद रु सात हजार, पाँच हजार र रु तीन हजारका दरले पुरस्कृत गरिएको हो ।यसैगरी ‘टिम गेम्स’तर्फका विजेता खेलाडीहरुलाई क्रमश रु पाँच हजार, तीन हजार र रु दुई हजार प्रदान गरिएको थियो ।कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको बताउनुभयो ।

“आफ्नो सीमित स्रोतहरुको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको छ ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरुको जीवन सुनिश्चित गर्नेछ ।”

खेलकुद क्षेत्रबाट अझै पनि जिविकोपार्जन विषयमा प्रश्नहरु यथावत रहेको धारणा अघि सार्दै उहाँले खेल खेलेर खेलाडीले आफ्नो जीवन धान्ने वातावरण सरकारले बताउने प्रतिवद्धता जनाउनुभयो ।

सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले खेलकुदबाट भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै तीनतहको सरकार खेलकुद विकासमा अघि बढेको बताउनुभयो ।

“खेलकुद अनुशासित क्षेत्र समेत हो । यसले सौहार्दता बढाउनेसंगै राष्ट्रको गरिमा समेत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मन्त्रालय खेलाडीहरुको मनोबल बढाउनेसंगै खेलक्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लाग्नेछ ।” मन्त्री थापाले भन्नुभयो ।

Comments
Loading...