नेत्ररोग विशेषज्ञ डा सन्दुकलाई यस वर्षको श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार

हिमाली आवाज । स्वास्थ्य तथा मानविय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल नेत्ररोग विषेषज्ञ डा सन्दुक राईलाई यस वर्षको श्रीपति समाजेवा राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार आज दुई सय १७ औँ श्रीपति जयन्तीका अवसरमा एक कार्यक्रमकाबीच राईले प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखी सुरु गरिएको यस पुरस्कारको राशी रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिनुभयो ।

“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा सन्दुकले गर्नुभएको योगदानलाई कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो । ” कोइरालाले भन्नुभयो । उहाँका अनुसार पुरस्कार गुठीको आगामी साधारणसभामा डा सन्दुकलाई अर्पण गरिनेछ ।
पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवी सहितको छ सदस्सीय गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी सार्वजनिक गरिएको हो ।

कम लागतको मोतियाविन्दुको विश्व विख्यात चिकित्सा पद्धतीको विकास गरी डा सन्दुकले मानविय सेवाका क्षेत्रमा आँखा उपचारलाई सुलभ र प्रभावकारी बनाउनुभएको छ । डा रुइतले धेरै जनाको मोतियाविन्दुको शल्यक्रिया गरेर दृष्टिविहीनहरुलाई आँखादान दिनुभएको छ ।

यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्यम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

पोखराका श्रीपति कोइराला एक सरकारी उच्च पदस्थ कर्मचारी तथा समाजसेवी हुनुहुन्थ्यो । सरकारी जागिरकै सिलसिलामा उहाँको विसं १९२६ मा निधन भएको थियो । कोइरालाको निधनपछि उहाँका सन्तानहरुले सामाजिक कार्यसहित राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले बताउनुभयो । पुरस्कार घोषणा कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गुठीका पूर्वअध्यक्षहरु लगायतले श्रीपति कोइरालाका योगदान लगायतका बारेमा चर्चा गर्नुभयो ।

Comments
Loading...