कास्कीमा दूग्ध उत्पादक कृषकलाई अनुदान, आधा बजेट खर्च भएन

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले दूग्ध उत्पादक कृषकहरुलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ ।

कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर रु पाँच दिने योजना अनुसार बजेट विनियोजन गरिएको थियो । तर मन्त्रालयबाट यस सम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट बञ्चित भएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालू आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरेपनि रु एक करोड ४९ हजार सात सय ३८ मात्र खर्च भएको छ । कृषकले सरकारले विनियोजन गरेको बजेटको आधा मात्र पाएका छन् ।

चालू वर्षमा समेत विगत वर्षमा झै प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो । उहाँले वृद्धि भएको अनुदान रकम मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ भएका कारण कृषकलाई प्रदान गर्न नसकिएको हो ।

उहाँले भन्नुभयो,“सरकार परिर्वतन लगायतका कारणबाट मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आउन ढिलाई भयो । जसले गर्दा दूध उत्पादन अनुदानका लागि विनियोजित बजेट आधा मात्र खर्च भयो । यस वर्ष स्वीकृत बजेट पूरै खर्च नभएपनि आगामी वर्षमा कार्यान्वयन हुनेछ ।”
जिल्लाका दूग्ध उत्पादक कृषकहरुले उत्पादनका आधारमा गत वर्षमा जस्तै चालू वर्षमा समेत प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी उत्पादन गर्ने कृषकले सरकारबाट प्रोत्साहन बापत अनुदान रकम समेत बढी पाएका हुन् ।

जिल्लामा कृषक समूह तथा सहकारीका माध्यमबाट दूध बिक्री गर्दै आएका कृषकहरुले सरकारी अनुदानको रकम बुझेका हुन् । दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि यस वर्ष आह्वान गरिएकामा २२ वटा समूह सहकारी छनोट भएको र सहकारीका माध्यमबाट कृषकलाई प्रत्यक्ष अनुदान रकम प्रदान गरिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार ४० लाख १९ हजार आठ सय ९५ लिटर दूधका लागि सो रकम प्रदान गरिएको हो ।

“उत्पादन गरेका आधारमा कृषकलाई सरकारको तर्फबाट प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम कृषकले सर्वाधिक रुचाएका छन् । यसबाट अनुदान रकम दुरुपयोग हुन पाउँदैन । जसले बढी उत्पादन गरेर बिक्री गर्दछ उसैले अनुदान पनि बढी पाउँछ ।” कार्यालय प्रमुख पाण्डेले भन्नुभयो । उत्पादनका आधारमा अनुदान वितरण गर्दा कृषकहरुले व्यवसायमा अझ बढी मेहनत गर्ने गरेको बताइन्छ ।

कास्कीमा कूल घरधूरी एक लाख २० हजार पाँच सय ७२ रहेकामा पशुपालनमा सङ्लग्न परिवार ५२ हजार तीन सय २३ रहेका छन् । कास्कीमा यहीँको दूग्ध उत्पादनले माग धान्ने अवस्था रहेको छ । उत्पादनका आधारमा सरकारले सहयोग गर्दा उत्पादन वृद्धि गर्न सहयोग पुगेको भेटेरिनरी अस्पतालका प्रमुख पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“जसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रमपछि उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न योगदान पुगेको छ ।”

भेटेरिनरी अस्पताले चालू आर्थिक वर्षमा पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, बाँझो जग्गामा घाँस खेती प्रवद्र्धन कार्यक्रम, कृषि ऋणमा व्याज अनुदान लगायतका मुख्य कार्यक्रम कार्यान्वयन गरेको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पतालको चालू वर्षमा रु नौ करोड चार लाख ६० हजार बजेट विनियोजन भएकामा विनियोजनको ८१ दशमलव ५२ प्रतिशत अर्थात् रु सात करोड ३७ लाख ४८ हजार आठ सय ६२ खर्च भएको कार्यालयले जनाएको छ ।

Comments
Loading...