हिमाली आवाज । पोखरामा आज विहान पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको जस्ताको घर विहान ४ बजेतिर घरभन्दा २० मिटर माथिबाट आएको पहिरो पुर्दा उहाँका छोरा २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार थापाको शव विहान ७ बजेतिर प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलबाट प्रहरीले ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको छ ।
पहिरो गएको सूचनापछि ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं. गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो । पोखरामा हिजो साँझदेखीनै निरन्तर वर्षा भइरहेको छ ।