गण्डकी प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट कृषक कृषि मन्त्रालयबाट पुरस्कृत

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेश सर्वोत्कृष्ट र उत्कृष्ट कृषक छनोट गरी पाँच जना व्यवसायिक कृषकलाई नगद सहित पुरस्कृत गरेको छ ।

प्रदेश सरकार मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आज कृषकहरुलाई नगद र सम्मानपत्रबाट सम्मान गरेको हो ।

प्रदेश सर्वोत्कृष्ट कृषक पुरस्कारबाट तनहुँको शुक्ला गण्डकी नगरपालिका–१० मा सञ्चालित युनिक मल्टी एग्रो प्रालिका का सञ्चालक हरि बहादुर खड्का नगद रु ३० हजार सहित पुरस्कृत हुनुभयो ।

यसैगरी प्रदेश उत्कृष्ट पुरस्कारबाट माछापुच्छ«े गाउँपालिका– ९ कास्कीका आरोस अर्गानिक कृषि फार्मका सञ्चालक पदमबहादुर तामाङ, कावासोती नगरपालिका–१५ नवलपुरका पाण्डे मत्स्य फार्मका प्रोपाइटर निराजन पाण्डे, थासाङ गाउँपालिका–१ टुकुचे मुस्ताङको आइपिएम एप्पल फार्मका निरज तुलाचन र लमजुङको क्वोलासोधर गाउँपालिका–८ मा अवस्थित अस्मिता एकीकृत फार्मका प्रोपाइटर केशकुमारी गुरुङ सम्मानित हुनुभयो । प्रदेश उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृतहरुले जनही रु २० हजारका दरले पुरस्कार पाउनुभएको थियो ।

कृषकहरुलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिना, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टङ्क प्रसाई, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाई लगायतले सम्मान गर्नुभएको थियो ।

जिल्लाहरुमा उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका कृषकहरु मध्येमा सबै जिल्लाबाट उत्कृष्ट एक जना कृषकलाई प्रदेशस्तरीय पुरस्कारका लागि सिफारिस गरिएकामा त्यस मध्ये उत्कृष्ट कृषकहरुलाई मन्त्रालयले पुरस्कृत गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“प्रत्येक जिल्लामा चार÷चार जना कृषक पुरस्कृत भएको र पुरस्कृत मध्ये उत्कृष्ट एक जनाको नाम प्रदेश स्तरीय पुरस्कारका लागि जिल्लाबाट सिफारिस भएबमोजिम तीनै १० जना कृषकको पुन मन्त्रालयबाट अनुगमन मुल्याङ्कन गरी सर्वोत्कृष्ट र उत्कृष्ट छनोट गरेका हौँ ।”

कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले कृषकहरुलाई प्रोत्साहन र थप प्रेरित भएर लाग्नका लागि पुरस्कारको कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

Comments
Loading...