गण्डकी प्रदेशस्तरीय टेनिस:वर्षाले खेल नभएपछि फाइनल पुगेका दुबैलाई विजेता घोषणा

हिमाली आवाज । पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिताको शनिबार हुने भनिएको फाइनल खेल वर्षाले प्रभावित बनेपछि पुरस्कार आधा आधा बाँडिएको छ ।

प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेल दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएपछि आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासङ्घको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको हो ।

प्रदेशस्तरीय टेनिस पुरुष एकलको फाइनलमा नेपालका एक नम्बर बरियता खेलाडी प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापा पुगेका थिए ।
आयोजकले दुबै खेलाडीहरुलाई बिजेता मान्दै पुरस्कृत गरेको गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष बिनोद कायस्थले जानकारी दिनुभयो ।

बिजेता बनेका दुबै खेलाडी पुरस्कार वापतको रकम जनही नगद रु २२ हजार पाँच सयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
अध्यक्ष कायस्यले टेनिस महासङ्घको नियमअनुसारनै दुबै जनालाई विजेता घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“हामी बिहान ७ बजेबाट तयार भएर बसेका थियौं । तर वर्षाले खेल प्रभावित हुन पुग्यो । अन्ततः हामीले अन्तर्राष्ट्रिय टेनिस महासङ्घको नियम अनुसारनै दुबैलाई बिजेता मान्दै पुरस्कृत गरेका हौं ।”

प्रतियोगितामा पुरुष एकतलर्फ शास्वत बज्राचार्य र अनिल साई तेस्रो भए । उनीहरुले जनही नगद रु तीन हजार सात सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी महिला एकलतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद रु सात हजार पाँच सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु तीन हजार सात सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

यसैगरी ‘पुरुष डबल्स’तर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस सङ्घका उपाध्यक्षद्वय लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, महासचिब नविन चालिसे, कास्की जिल्ला टेनिस सङ्घका सचिव एवं टुर्नामेन्ट डाइरेक्टर नविन श्रेष्ठ लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यही असार १९ गतेबाट सुरु भएको प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस सङ्घको व्यवस्थापनमा सम्पन्न भएको हो ।

Comments
Loading...