पोखरा रङ्गशालामा राखियो प्याराग्लाइडिङ खेलाडी निसिमको शालिक

हिमाली आवाज । पोखरा रङ्गशालाभित्र प्याराग्लाइडिङका खेलाडी निसिम थापाको शालिक राखिएको छ । रङ्गशालाको उत्तरपट्टी प्रवेशद्धार नजिक थापाको शालिक सहित पार्क निर्माण गरिएको हो ।

पोखरामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फको प्रतिस्पर्धाका क्रममा ग्लाइडर दुर्घटनामा थापाको निधन भएको थियो । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सोही बेला रङ्गशालामा थापाको अर्थकदको शालिक स्थापना गर्ने प्रतिवद्धता जनाएको थियो ।
राखेपको समन्वयमा रु २० लाख लागतमा शालिक र पार्क निर्माण गरिएको निसिम थापा फाउण्डेशनका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्क निर्माणका लागि रु पाँच लाख र शालिकका लागि रु १५ लाख लगानी भएको छ ।

थापाको अर्ध कदको शालिक आठ फिट अग्लो र पाँच फिट चौडा आकारमा रहेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले स्व थापाले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदान स्वरुप शालिक सहितको पार्क निर्माण गरिएको बताउनुभयो ।

“गण्डकी प्रदेश सहित समग्र नेपालको खेलकुद विकासमा छोटो समयमा थापाले धेरै महत्वपूर्ण योगदान गरेका छन् । उनको योगदानलाई चिरस्थायी बनाउनका लागि शालिक निर्माण गरेका हौा ।” गुरुङले भन्नुभयो ।

फाउण्डेसनका अध्यक्ष थापाले आगामी दिनमा सामाजिक कार्य संगै खेलाडी सम्मान तथा बिद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिने कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो ।

स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाईडिङको क्रस कन्ट्री तर्फको विधामा सहभागी हुनुभएको थियो । सराङकोटको आकाशमा क्रसकन्ट्री पाराग्लाइडिङ खेल्ने क्रममा २६ वर्षीय निसिमको उहाँको विसं २०७९ असोज ३० गते दुर्घटनामा मृत्यु भएको हो ।

राष्ट्रिय खेलकुदको इतिहासमा खेल समयमा खेलाडीको निधन भएको पहिलो घटना भएकाले राखेपले थापाको सम्मानका लागि शालिक निर्माण गर्ने प्रतिवद्धता जनाएको थियो ।

Comments
Loading...