सीप विकास तालिम केन्द्रले दियो सात सय बढीलाई निःशुल्क तालिम

हिमाली आवाज । पोखरा महानगरपालिका–२० की अस्मिता बस्नेत लामो समय बेरोजगार हुनुभयो । चाहेजस्तो रोजगारी नपाउँदा उहाँमा अन्त सानो तिनो जागिर खाने भन्दा आँफै सीप सिकेर स्वरोजगार बन्ने चाहना भयो । साथीहरुले सीपमुलक तालिम लिएर आफ्नै व्यवसाय सुरु गरेपछि उहाँपनि त्यसतर्फ आकर्षित हुनुभयो ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्रले स्वरोजगारमुलक तालिम दिन्छ भन्ने थाहा पाएपछि उहाँले कार्यालयको फेसबुक पेज नियमित हेर्न थाल्नुभयो ।सीपमुलक तालिमको आवेदन खुलेपछि आधारभूत केस श्रृङ्गारमा आवेदन दर्ता गर्नुभयो र छनोट हुनुभयो । सीप विकास केन्द्रबाट तीन महिनाको तालिम लिएको शुक्रबार प्रमाणपत्र पाएपछि बस्नेत असाध्यै खुशी हुनुहुन्छ । यसबाट बस्नेतमा स्वरोजगार बन्ने हुटहुटी पलाएको छ ।

सीप सिकेर आफ्नै खुट्टामा उभिने सपना पूराभएपछि हर्षित हुँदै बस्नेतले भन्नुभयो,“म बेरोजगार थिउँ अहिले भाग्यवस यहाँ आएर अवसर पनि पाउँ । पहिला मलाई केस श्रृङ्गार सम्बन्धी केही ज्ञान थिएन । अब म आफ्नै पार्लर खोलेर स्वरोजगार बन्छु, अन्य बेरोजगार दिदीबहिनीलाई समेत काम दिन्छु ।”

पोखरा–२३ पामे घाँटीछिनाका अमृत पौडेलले पनि इलेक्ट्रोनिक्स तालिम लिएपछि आत्मनिर्भरतातर्फ अघि बढेको बताउनुभयो । तालिममा आधारभूत विषयहरु जानिसकेको र अब त्यसलाई फिल्डमा गएर कार्यान्वयन गर्ने जनाउनुभयो ।“म जस्ता जागिर नभएकाहरुका लागि यस्ता तालिम अत्यन्त उपयोगी रहेछन् । यति सीप जानिसकेपछि अब अर्काकोमा जागिरनै खानु परेन । आफैले केही गरेर जीवन धान्ने योजना छ । ” पौडेलले भन्नुभयो ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेले चालू आर्थिक वर्षमा मात्रै ३६ वटा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।सीपमुलक तालिममा युवा युवतीहरुको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । चालू वर्षमा एक हजार नौ सय ५१ जनाको विभिन्न तालिममा आवेदन परेकामा सात सय पाँच जनाले जनाले तालिम लिएको केन्द्रले जनाएको छ ।

केन्द्रले प्लम्बिङ, आधारभूत केस श्रृङ्गार,विद्युत जडान,फेसन डिजाइन, आधारभूत कम्प्युटर, कपाल काट्ने शैलुन लगायतमा निःशुल्क तालिम प्रदान गर्दै आएको छ ।

केन्द्र प्रमुख वाग्लेले भन्नुभयो,“पहिलाभन्दा अहिले सीपमुलक तालिमप्रति सहभागिता र आकर्षण बढेको छ । तालिम लिएकाहरु पनि तालिमपछि स्वरोजगार बनेर धेरै राम्रो आय आर्जन गरेको पाइन्छ । सीप सिकी नेपालमानै बस्ने प्रेरणा युवालाई मिलेको छ ।”

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिमलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । आगामी वर्षहरुमा आधारभूतसँर्ग एडभान्स लेवलको सीप विकास तालिममा समेत प्रदेश सरकारले लगानी मन्त्री थापाले प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री थापाले भन्नुभयो,“सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभान्वित हुनुुभयो । स्वरोजगार बनी अन्यलाई रोजगार दिने बाटोमा यहाँहरु अग्रसर रहनुहुुनेछ भन्ने अपेक्षा लिएको छु ।”

Comments
Loading...