गण्डकी प्रदेशस्तरीय महिला क्रिकेटको उपाधि स्याङ्जाले जित्यो

हिमाली आवाज । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा घरेलु टोली कास्कीलाई.४५ रनले पराजित गर्दै स्याङ्जा च्याम्पियन भएको छ ।

उपाधि विजेता स्याङ्जाले नगद रु एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कास्कीले रु ५० हजार ट्रफी र मेडल पुरस्कार प्राप्त गर्यो ।

फाइनलमा समेत टस जितेर पारीको सुरुआत गर्दै स्याङजाले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय पाँच रन बनायो ।
स्याङजाका लागि कुशुम गोदारले ३१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडिन् । सिमाना केसीले ३६ बलमा दुई चौकाका साथ २४ रनको योगदान दिइन् । यसैगरी ज्योत्सना मरासिनीले १४ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन छुन सकेनन् । स्याङजाले २० रन अतिरिक्त पाएको थियो ।

कास्कीका लागि सुशीला दिम्दुङ र पूर्णिमा गुरुङले समान दुई÷दुई विकेट लिए । रचना चौधरी, चन्द्रमायाँ बराल र रिया तामाङले समान एक÷एक विकेट लिए ।

उपाधिका लागि एक सय छ रनको लक्ष्य पछ्याउने क्रममा कास्की २० ओभरमा नौ विकेट गुमाउँदै ६० रन मात्रै जोड्न सक्यो । कास्कीले १५ रन अतिरिक्त दोहोरो रन आफ्नो पारीमा जोडे पनि खेलाडीहरुले दोहोरो अङ्क छुन भने सकेनन् । कास्कीका खेलाडीहरुले आफ्नो पारीमा ४५ रन मात्रै बनाए ।

बलिङतर्फ आकृति तिवारीले चार ओभरमा एक मेडन राख्दै १२ रन दिएर दुई विकेट लिइन् । ‘ओमन अफ दी म्याच’ घोषित सिमाना केसीले तीन ओभर बलिङमा पाँच रन दिएर दुई विकेट लिन सफल हुँदा रन्जना साउदले दुई ओभरमा पाँच रन दिएर दुई विकेट लिइन् । यसैगरी कुशुम गोदारले एक विकेट लिन सफल भइन् ।

प्रतियोगितामा स्याङजाकी कुशुम गोदार ‘प्लेयर अफ दि सिरिज’ र ‘बेष्ट व्याटर’ बन्न सफल भइन् । कास्कीका चन्द्रमायाँ बराल उत्कृष्ट बलर बन्न सफल भइन् । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा यही असार ७ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमले लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...