मनाङका होटल व्यवसायीलाई पर्यटनमैत्री सेवा तालिम

हिमाली आवाज । हिमालपारिको जिल्ला मनाङका होटल व्यवसायी तथा कर्मचारीलाई स्वच्छ र पर्यटनमैत्री सेवा प्रवाहमा सक्षम बनाउन सदरमुकाम चामेमा शनिबारदेखि तालिम सुरु भएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा सुरु भएको तालिममा आइतबारसम्म चल्नेछ ।

तालिमको उद्घाटन गर्दै चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले होटलको सेवालाई गुणस्तरीय बनाउन मद्दत पुग्ने बताउनुभयो । “हिजोका दिनमा जानेर वा नजानेर व्यवसायीहरुले होटल सञ्चालन गरिरहनुभएको थियो, यो तालिमबाट प्राप्त हुने नयाँ ज्ञान र सीप चलाएर व्यवसायीहरु मनाङमा अझ धेरै पर्यटक ल्याउन सफल बन्नुहुनेछ”, उहाँले भन्नभयो ।

मनाङको मुख्य आयस्रोतको क्षेत्र पर्यटन रहेको भन्दै अध्यक्ष घलेले होटल व्यवसायलाई मर्यादित र गुणस्तरयुक्त बनाउनुपर्ने बताउनुभयो । सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा पर्ने देखिएको उहाँको भनाइ छ । “मुख्य गरी यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले पनि यसमा सोचोस्”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि मनाङ पर्न थालेको बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा २२ हजार भन्दा बढी पर्यटकले मनाङ भ्रमण गरेका थिए । आतिथ्य सेवालाई गुणस्तरीय र मर्यादित भएमा मात्र पर्यटकलाई आकर्षित गर्न सकिने कार्यालय प्रमुख भुजेलले बताउनुभयो । मनाङमा तीन सय बढी होटल सञ्चालित छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने थोरङ्ला भञ्ज्याङ, तिलिचो ताललगायत यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

महासङ्घका अध्यक्ष अर्जुन चोखालले मस्र्याङ्दी करिडोरअन्तर्गत मनाङ सदरमुकाम चामेलगायत क्षेत्रका होटल व्यवसायीलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । “होटलमा कार्यरत जनशक्तिको समयसापेक्ष सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो”, अध्यक्ष चोखालले भन्नुभयो, “तालिमले होटलको सेवा थप गुणस्तरीय र मर्यादित हुने अपेक्षा लिइएको छ ।”

मनाङ विदेशी पर्यटकमाझ पनि परिचित गन्तव्य भएकाले यहाँ सञ्चालित होटलले पर्यटकमैत्री सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ । पर्यटक आवागमनको वृद्धि सँगसँगै होटलहरुले आफ्नो आन्तरिक क्षमता र सेवाको गुणस्तर बढाउनुपर्ने अध्यक्ष चोखालले बताउनुभयो ।

तालिममा खाद्य स्वच्छता, सरसफाइ, पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणलगायतका विषयमा विज्ञहरुले तालिम दिने महासङघका महासचिव देवेन्द्र लम्सालले बताउनुभयो । तालिममको प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मीलगायत रहनुभएको जनाइएको छ ।
खाद्य स्वच्छतादेखि र पर्यटकमैत्री व्यवहारसम्मका विषयमा तालिमका सहभागीले सिक्ने अवसर पाउनेछन् । ‘एक्याप’ मनाङको स्थानीय सहजीकरणमा आयोजित तालिममा ४० जना होटल व्यवसायी तथा कर्मचारी सहभागी छन् । यसअघि महासङले मस्र्याङ्दी करिडोरअन्तर्गत तनहुँ र कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी र नवलपुरमा तालिम सञ्चालन गरिसकेको छ ।

Comments
Loading...