पोखरामा गण्डकी प्रदेशस्तरीय फुटबल सुरु, तनहुँको विजयी सुरुआत

हिमाली आवाज । पोखरा रङ्गशालामा शुक्रबारदेखी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा तनहुँले ३–० गोलले गोरखालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल सङ्घको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता यही जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्येमा मुस्ताङ बाहेक १० जिल्लाको सहभागिता रहेको छ ।उद्घाटन खेलमा तनहुँलाई सहज जित दिलाउने क्रममा खेलमा पहिलो गोल शान्ता बहादुर गुरुङले २० औं मिनेटमा गरे ।

खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे । गोरखाले खेलमा फर्किन अन्तिमसम्म प्रयास गरेपनि सफल हुन सकेन ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गण्डकीमा फुटबल खेल विकास र नयाँ प्रतिभा पहिचानका लागि प्रतियोगिता सफल हुने बताउनुभयो ।नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् ।

जस अन्तर्गत पहिलो खेलमा म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने ।

यसैगरी चौथो तथा अन्तिम खेलमा लमजुङले तनहुँको सामना गर्ने गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव बिनोद गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।

Comments
Loading...