स्व त्रिभुवन पौडेल अक्षयकोषमा खेलकुद पत्रकार मञ्च गण्डकीको सहयोग

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गर्नुभयो । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था मगर सहभागी हुनुहुन्थ्यो ।

मञ्चका पूर्व सल्लाहकार पौडेलको २०७९ साल माघ १ गते विमान दुर्घटनामा परि निधन भएको थियो । पौडेलको सपना साकार बनाउने उद्धेश्यले सुरु भएको उक्त अक्षयकोषमा केही मात्रामा भएपनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष बरालले हिमाली आवाजलाई जानकारी दिनुभयो । महासंघ गण्डकीले संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गर्ने जनाएको छ ।

Comments
Loading...