पोखरामा कृषि जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी पोखरामा आजदेखि कृषि जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा विभिन्न २० देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीयदेखि विश्वव्यापी वन तथा कृषि उत्पादक संस्थाका प्रतिनिधिहरू, सरकारी प्रतिनिधिहरू, अन्वेषक आदि सहभागी सम्मेलनमा विभिन्न २० देशका ७३ जना विदेशी र एक सय भन्दा बढी नेपाली प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवम् अन्तरक्रियामा सहभागीहरूले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौति, उत्कृष्ट अभ्यास आदि बारे छलफल गर्नेछन् ।

सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुदीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले जैविक विविधताका क्षेत्रमा देखिएका समस्याहरूको चुनौती समान गर्दै विभिन्न कार्यक्रमका साथ अघि बढीएको बताउनुुभयो । जैविक विविधताको संरक्षणका लागि सरोकारवालाबीचको समन्वय जरुरी रहेको उहाँको भनाइ छ ।

कृषि तथा पशुपंक्षि विकास मन्त्री ज्वाला कुमारी साहले कृषि जैविक विविधता अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न तवरले प्रयास गरिरहेको बताउनुुभयो । स्वदेशी बाली संरक्षण, दिगो खेती प्रवर्द्धन र परम्परागत कृषि ज्ञानको संरक्षण गर्न स्थानीय समुदाय लक्षित कार्यक्रममा जोड दिइएको बताउनुुभयो ।

एफएओका नेपाल तथा भुटानका प्रतिनिधि केन शिमिजुले कृषि जैविक विविधतामा एफएओको समर्पण र कृषि विविधतालाई प्रवर्द्धन गर्न नेपालजस्ता राष्ट्रहरूलाई सहयोग गर्ने कुरामा जोड दिनुुभयो ।

कृषि जैविक विविधता संरक्षण र उपयोगलाई बढावा दिने लगायतका काममा भैरहेका प्रयास बारे उहाँले प्रकाश पार्नुुभयो । स्थानीय र विश्वव्यापी रूपमा कृषि जैविक विविधता बढाउन साना किसानहरू, आदिवासी समूहहरू र स्थानीय समुदायहरूलाई दिगो वन र खेत व्यवस्थापनमा सशक्त बनाउन साझेदारहरूसँगको सहकार्यबारे उहाँले चर्चा गर्नुुभयो ।

सामुदायिक बन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले समुदायमा आधारित संरक्षण पहल मार्फत कृषि जैविक विविधता प्रवर्द्धन गर्न महासंघ कृयाशिल रहेको बताउनुुभयो । महासंघले किसानहरूसँग नजिकबाट काम गरेको उहाँको भनाइ छ ।

सम्मेलनमा कृषि जैविक विविधता एवम् यसको महत्व, कृषि जैविक विविधतालाई राम्रो वा नराम्रोको लागि संरक्षण र व्यवस्थापन गर्न नीतिहरू पारेको सहयोग, कृषि वन प्रणालीको परम्परागत ज्ञान र कृषि जैविक विविधता कायम राख्ने ज्ञान र असल अभ्यास आदान प्रदान, बीउ र खेती व्यवस्थापन प्रविधिहरू, उद्यमी आविष्कार लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवम् अन्तरक्रियामा सहभागीहरूले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौति, उत्कृष्ट अभ्यास आदि बारे छलफल गर्नेछन् । साना वन र कृषि उत्पादकहरूको कृषि जैविक विविधतामा योगदानका साथै उनीहरूले कसरी आफ्ना स्रोतहरू दिगो रूपमा व्यवस्थापन र व्यावसायिक उपयोग गरिरहेका सम्बन्धमा पनि सम्मेलनमा छलफल गरिने छ ।

कार्यक्रमकै क्रममा पोखरामा कृषि जैविक विविधता व्यवस्थापनका नवीन उदाहरणहरू खोज्दै क्षेत्र सहभागीलाई अध्ययन भ्रमण समेत गराइने आयोजकले जनाएको छ ।

सम्मेलनको क्रममा प्रारम्भ गरिएका सहयोगी प्रयासहरूले दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्ने र कृषि जैविक विविधता संरक्षणले प्रकृति संरक्षण, जीविकोपार्जन र विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । –––

Comments
Loading...