हिमाली आवाज । ‘पर्यटन, संस्कृति र खाना’ को नारा सहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँवर्षका अवसरमा १९ औं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ ।
होटल सङ्घ पोखराले नेपाली नयाँवर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव गर्न लागेको हो ।
यही चैत २९ देखी आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखी हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने महोत्सव संयोजक एवं होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार नववर्ष महोत्सवलाई भव्य बनाउने गरी आवश्यक तयारी भइरहेको छ । महोत्सवको प्रमुख उद्धेश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली नेपाली खानाको प्रवद्र्धन रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिएका छन् ।
अध्यक्ष सुवेदीले भन्नुभयो,“नेपालका मुख्य सहरमा अंग्रेजी नयाँवर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँवर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । पर्यटनको राजधानी घोषणापछि पहिलोपटक हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छौँ ।”
महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति र एरिया संयोजक गठन गरिएको छ ।
महोत्सवको अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताउनुभयोे ।
महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्र्धन,सांस्कृतिक झाँकीका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौड प्रतियोगिता लगायत रहेका छन् ।
कोभिड–१९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेर होटल थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यस वर्ष धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक समेत नेपाली नयाँवर्ष मनाउन पोखरा आउने अपेक्षा रहेको बताउनुभयो । नववर्ष महोत्सवको नेपालका छिमेकी देश भारत सहित अन्तर्राष्ट्रियस्तमा समेत प्रचार भएकाले पर्यटक आगमन वृद्धि हुने उहाँले उल्लेख गर्नुभयो ।
होटल सङ्घ पोखराले दुई दशकअघिदेखी नेपाली नयाँवर्षमा महोत्सव गर्दै आएको छ । कोरोनाका कारण दुई वर्ष सञ्चालन नभएको महोत्सव अन्य वर्षहरुमा निरन्तर रहेको छ ।
पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नविन पोखरेलले नववर्ष महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक उन्नयनमा योगदान गरेको बताउनुभयो ।