हिमाली आवाज । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर(एविसी) प्रवेशद्धार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित विरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
अन्नपूर्ण–८ स्थित विरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्व जानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्धेश्य केन्द्रको छ ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी गरी रु ६० लाख लागतमा सो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा सूचना प्रविधि अधिकृत सहित ती जना कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
पर्यटन सूचना केन्द्र विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्धारमा स्थापना गरिएकाले सूचना केन्द्रबाट पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गरिने र पर्यटकलाई अप्ठ्यारो परेको अवस्थामा छिटो उद्धार गर्न समेत सहयोगी हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिकाले पर्यटन सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिसकेको छ ।
“गाउँपालिकाको प्राकृतिक सम्पदा र परम्परागत कला तथा सांस्कृतिक सम्पन्नतालाई विश्व पर्यटक समक्ष प्रचार, प्रसार र प्रवद्र्धन गर्न पर्यटन सूचना केन्द्र स्थापना गरेका हौँ ।” अध्यक्ष केसीले भन्नुभयो,“ यसले पर्यटन क्षेत्रको विकासमा नवीनता थप्न तथा एकीकृत पर्यटन व्यवसायलाई सुरक्षित,भरपर्दो र विश्वसनीय बनाउने छ ।”
सूचना केन्द्रबाट सोधपुछ सहायता, गाउँपालिकाको पर्यटकीय, ऐतिहासिक, धार्मिक, स्थलको जानकारी, पदमार्ग रुट सम्बन्धित जानकारी, मौसम सम्बन्धित जानकारी, ट्रेकिङ गाइड सम्बन्धित जानकारी , संरक्षण क्षेत्र भित्र पालना गर्नुपर्ने नियम सम्बन्धित जनकारी प्रदान गरिनेछ ।
यसैगरी आकस्मिक उद्धार एवं आकस्मिक उपचारको लागि समन्वय, हराएका सामानको सम्पर्क, इमेल ईन्टरनेटमा पहुँच, जैविक विविधता, हिमाली क्षेत्र र सँस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तन सम्बन्धी खोज अनुसन्धान, पर्यटन र प्रविधिको संयोजन सम्बन्धी जानकारी एवं खोज, समुदाय परिचालन सम्बन्धि नमूना, लगायतका सेवा प्राप्त हुनेछ् ।
एकीकृत पर्यटन सूचना केन्द्रमा सोधपुछ÷सहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन लाइब्रेरी, सङ्ग्रहालय तथा हस्तकला एवं आन्तरिक उत्पादन प्रदर्शन तथा बिक्री कक्षको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले सीपमुलक तालिम मार्फत लाइसेन्स प्राप्त ३५ जना ट्रेकिङ गाइडहरु समेत तयार पारिसकेको छ ।
सूचना केन्द्रलाई समयानुकुल प्रविधिमैत्री बनाउँदै लैजाने गरी गाउँपालिका भित्रका पर्यटकीय, ऐतिहासिक, धार्मिक क्षेत्र , पर्यटन पदमार्ग, महत्वपूर्ण स्थानको जानकारी, तीन सय ६० डिग्री भ्यु, भर्चुअल टुर , फोटो, भिडियो, गाउँपालिकाका क्षेत्र भित्र गर्न सकिने क्रियाकलाप, होटल तथा होम स्टे विवरण सहितको पर्यटन पोर्टल एबम मोवाइल एप्लिकेसन समेत सञ्चालनमा ल्याइएको छ ।
समग्र पर्यटन क्षेत्रको बिकासको लागि सूचना केन्द्र मार्फत ट्रेकिङ गाइड, होटल व्यवस्थापन तालिम हस्तकला सामाग्री उत्पादन लगायतका विभिन्न सीपमुलक तालिम प्रदान गरिने बताइन्छ ।
सूचना केन्द्रलाई जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तन सम्बन्धी खोज अनुसन्धानको हबको रुपमा समेत बिकास गर्दै लैजाने लक्ष्य लिइएको लिइएको प्रवक्ता गुरुङले बताउनुभयो ।उहाँले आवश्यकताका आधारमा अन्य स्थानमा समेत सेवा केन्द्र स्थापना र सञ्चालन गर्न सकिने जानकारी दिनुभयो ।
विरेठाँटी अन्नपूर्ण आधार शिविर तथा प्रख्यात घोरेपानी र पुन हिल पर्यटकीय क्षेत्रको प्रवेशद्धारका रुपमा रहेको छ । विरेठाँटीबाट पदयात्रा सुरु गरी पर्यटकहरु पुन हिल तथा घोरेपानी पुग्ने गर्दछन् ।