हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा आजदेखी गण्डकी प्रदेशका स्थानीय तहहरुकाबीचमा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
माछापुच्छ«े गाउँपालिका—३ घाचोकस्थित मेघराज आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले एक भव्य समारोहकाबीच उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा गण्डकीका २० स्थानीय तहले सहभागिता जनाएका थिए । नकआउटका आधारमा सञ्चालित प्रतियोेगिताको पहिलो दिनको खेलपछि ११ टोली दोस्रो चरणमा प्रवेश गरेको खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिँखडाले गण्डकी प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । खेल क्षेत्र र खेलाडीमा अनुशासनको ठूलो महत्व हुने उहाँको भनाई छ । मन्त्री सिँखडाले आफू पनि खेलप्रेमी रहेको बताउँदै भन्नुभयो,“म पनि खेलप्रेमी हो । अहिले पनि समय मिल्दा ब्याडमिन्टन खेल्ने गर्छु ।”
मन्त्री सिँखडाले खेलकुद, शिक्षा, महिला तथा अन्य विभिन्न क्षेत्रमा सहयोग र साझेदारीका लागि मन्त्रालयले कार्यक्रमहरु सञ्चालन गरिरहेकाले त्यसमा सहभागी हुन आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने लक्ष्य सहित प्रतियोगितालाीई निरन्तरता दिइएको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन अघि भजन समूह, आमा समूह विभिन्न समाज तथा महिला स्वास्थ्य संयमसेविकाहरु ल्गायतले मौलिक झाँकी प्रस्तुत गरेका थिए । झाँकी र नृत्यले उदघाटन समारोह भव्य बनेको थियो ।
प्रतियोगितामा उपाधि बिजेता टोलीले नगद रु तीन लाख र उपबिजेताले नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सेमिफाइनलका दुई टोलीलाई जनही रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद रु सात हजारका साथमा ट्रफी र उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, डिफेन्डर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु पाँच हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न करिव रु १२ लाख ८३ हजार खर्च लाग्नेसँगै सो अवसरमा भलिबल खेल अतिरिक्त सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो । उद्घाटन समारोहमा सहभागीलाई स्वागत गर्दै वडा नं ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्सालले खेलकुद र पर्यटनका माध्यमबाट घाचोक गाउँ देश तथा विदेशमा प्रख्यात रहेको बताउनुभयो ।